नेपाली कम्युनिष्ट पार्टीका सहअध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले प्रमुख राजनीतिक दल तथा अनुभवी नेताहरूसँग आवश्यक परामर्श नै नगरी एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि सपथ ग्रहणका दिन आफूले बधाई दिएयता प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटघाटसमेत हुन नसकेको नेपालले बताए। प्रधानमन्त्रीले आफूलाई भेटका लागि नबोलाएको र कुनै विषयमा राय–सल्लाहसमेत नलिएको उनको भनाइ छ ।
नागरिकसँगको कुराकानीमा नेपालले भने, ‘प्रधानमन्त्रीलाई सपथको दिन बधाई दिएपछि कहिल्यै भेट्न पाएको छैन । उहाँले बोलाउनु पनि भएन, राय–सल्लाह पनि लिनुभएको छैन। उहाँलाई फोटोमा हेर्छु, तर व्यक्तिगत रूपमा चिनजान छैन ।’
नेपालले वर्तमान सरकारबाट अपेक्षित रूपमा जनमुखी काम हुन नसकेको दाबी गरे । संकटको अवस्थामा सरकार सबै राजनीतिक शक्ति र सरोकारवालालाई साथमा लिएर अघि बढ्नुपर्नेमा त्यसो हुन नसकेको उनको आरोप छ ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सर्वपक्षीय बैठक बोलाएर विभिन्न पक्षसँग छलफल थालेको विषयलाई भने सकारात्मक रूपमा उल्लेख गरे ।
‘देश विपत्तिमा परेको बेला सबै शक्ति एक भएर त्यसको सामना गर्नुपर्छ,’ नेपालले भने, ‘त्यसका लागि सबै पक्षबीच संवाद र सहकार्य आवश्यक छ ।’
नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै त्यसलाई ‘हिटलर पाराको’ संज्ञा दिए । पुराना राजनीतिक अनुभव भएका दल तथा नेतासँग समेत सरकारले सरसल्लाह नगरेको उनको आरोप छ ।
‘पुरानो राजनीतिक अनुभव भएका कुनै पनि राजनीतिक दलसँग सरकारले सरसल्लाह लिएको छैन । हिटलर पारामा हिँडिरहेको छ,’ नेपालले भने ।
उनका अनुसार मुलुक संकटमा रहेका बेला सरकारको नेतृत्वले राजनीतिक दल, पूर्वप्रधानमन्त्री, अनुभवी नेता तथा अन्य सरोकारवालासँग संवाद गरी साझा धारणा निर्माण गर्नुपर्ने हुन्छ । तर अहिलेको सरकार त्यस्तो संवाद र सहकार्यको बाटोमा अघि बढ्न नसकेको उनको दाबी छ ।
नेपालको पछिल्लो अभिव्यक्ति वर्तमान सरकारको कार्यशैलीप्रति राजनीतिक दलभित्र बढ्दै गएको असन्तुष्टिको संकेतका रूपमा आएको छ ।

प्रतिक्रिया