भारतबाट लागु औषध खैरो हेरोइन ल्याएर लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहको निगरानी गर्ने क्रममा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले मंगलबार राति १०ः४५ बजे बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१४ मा भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका व्यक्तिलाई शंका लागेर रोक्न खोजेको थियो।
प्रहरीका अनुसार रोक्न खोज्दा मोटरसाइकल नरोकी भागेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि भागिरहेपछि मोटरसाइकलको टायरमा दुई राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बहराइच जिल्ला, रुपैडिया थाना चकिया रोड ठेगाना भएका २४ वर्षीय नदिम राई रहेका छन्। उनको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले राईलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ।
प्रहरीका अनुसार उनको साथबाट भारतीय नम्बर प्लेट यूपी४०जे०६५७ को मोटरसाइकल र एउटा मोबाइल पनि बरामद भएको छ।
लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार बरामद लागु औषध खैरो हेरोइनको कारोबारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया