उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले धादिङको कृष्णभिरमा नयाँ ट्रयाक खोली पृथ्वी राजमार्गअन्तर्गत दुईतर्फी सडक सञ्चालनमा आएको भन्दै दीर्घकालीन समाधानका लागि तत्काल काम अघि बढाउन आग्रह गरेका छन्।
भदौ १० गते रसुवामा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीपछि त्रिशूली नदीको कटानका कारण कृष्णभिरमा सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा आवागमनसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत प्रत्यक्ष असर परेको र त्यसले उपभोक्तासम्म पुग्ने सामग्रीको मूल्यमा चाप परेको घिसिङले बताएका छन्।
नयाँ ट्रयाकमार्फत सडक दुईतर्फी सञ्चालनमा आउनु विपदबाट प्रभावित जनजीवन र आपूर्ति व्यवस्थालाई सहज बनाउन महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरे। तर, कृष्णभिर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै दीर्घकालीन समाधानका लागि तत्काल काम अघि बढाउनुपर्ने उनको भनाइ छ।
घिसिङले विज्ञबाट विस्तृत भौगर्भिक अध्ययन गराई सुरक्षित र दिगो सडक संरचना निर्माण गर्नुपर्ने बताएका छन्। सम्भावित जोखिमका बेला प्रयोग गर्न सकिने वैकल्पिक सडक पहिचान गरी आवश्यक स्थानमा निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउनसमेत उनले आग्रह गरेका छन्।
सडक सञ्चालनका लागि अहोरात्र खटिने भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग, नौबिसे–मुग्लिङ सडक आयोजना, स्थानीय तहका जनप्रतिनिधि, निर्माण व्यवसायी, सुरक्षाकर्मी, प्राविधिक तथा श्रमिकलगायत सबैलाई उनले धन्यवाद दिएका छन्।
प्रतिकूल मौसम, जोखिमयुक्त भूगोल र निरन्तर चुनौतीका बाबजुद फिल्डमै रहेर काम गर्ने सडक विभागका प्राविधिक तथा कर्मचारी, नौबिसे–मुग्लिङ सडक आयोजना, निर्माण व्यवसायी तथा श्रमिक, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको प्रयास प्रशंसनीय रहेको घिसिङले बताएका छन्।
विपद्का बेला समयमै जुट्ने सामूहिक प्रयासले कठिन परिस्थितिमा नागरिकलाई राहत र भरोसा प्रदान गर्ने उल्लेख गर्दै उनले सबैको निरन्तर समन्वय, सक्रियता र प्रतिबद्धताबाट बाँकी प्रभावित सडक तथा पूर्वाधार पनि यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, घिसिङले बट्टारदेखि वेत्रावती हुँदै धुन्चे–स्याफ्रुबेँसीसम्मको सडक पनि छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया