अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन्।
भारत भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। शुक्रबार बिहान ९ बजे पूर्वभारतीय विदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
सोही दिन साँझ ५ बजे उनले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि साँझ ७ः३० बजे भारत व्यापार संवर्धन संगठन (आईटीपीओ) का अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् अन्तरक्रिया कार्यक्रममा वाग्ले सहभागी हुनेछन्।
भ्रमणको अन्तिम दिन शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफल कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया