इंग्लिस काराबाओ कपको तेस्रो चरणअन्तर्गत बुधबार राति भएका खेलमा म्यानचेस्टर युनाइटेडलाई ब्राइटनले स्तब्ध बनाएको छ। युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा २-० को अग्रता लिए पनि ब्राइटनसँग ३-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

युनाइटेडका लागि शिया लेसी र मेसन माउन्टले सुरुवाती १० मिनेटभित्र गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए। तर ब्राइटनले चार्लाम्पोस कोस्टुलास, पास्कल ग्रोस र म्याक्सिम डि क्युपरको गोलमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम १६ मा स्थान बनायो। डि क्युपरले ६९औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

अर्को खेलमा एस्टन भिल्लाले कोभेन्ट्री सिटीलाई ३-१ ले हरायो। भिल्लाका लागि टमी अब्राहमले दुई गोल गरे भने रस बार्कलीले एक गोल थपे। कोभेन्ट्रीका भिक्टर टोर्पले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

फ्लीटवुड टाउनले पनि उत्कृष्ट नतिजा निकाल्दै च्याम्पियनसिप क्लब सेफिल्ड युनाइटेडलाई १-० ले हरायो। राइस नोरिङ्टन-डेभिसको आत्मघाती गोल फ्लीटवुडको जितका लागि पर्याप्त बन्यो। लिग टुमा रहेको फ्लीटवुड पहिलोपटक काराबाओ कपको अन्तिम १६ मा पुगेको हो।

यस्तै, एभर्टनले उल्भरह्याम्पटन वान्डरर्सलाई १-० ले पराजित गर्‍यो। चार्ली अल्काराजले ७९औँ मिनेटमा गरेको गोल एभर्टनको जितका लागि निर्णायक बन्यो।

अब काराबाओ कपको तेस्रो चरणअन्तर्गत आज राति एक खेल मात्र बाँकी छ। म्यानचेस्टर सिटीले घरेलु मैदानमा च्याम्पियनसिप क्लब नर्विच सिटीको सामना गर्नेछ। खेल नेपाली समयअनुसार बिहान १२ः१५ बजे सुरु हुनेछ।

सिटी गत सिजनको काराबाओ कप विजेता हो। उसले फाइनलमा आर्सनललाई २-० ले हराएर उपाधि जितेको थियो। नर्विचलाई पराजित गर्न सके सिटीले अन्तिम १६ मा स्थान बनाउनेछ।

यसैबीच, अन्तिम १६ को ड्र सार्वजनिक भइसकेको छ। लिभरपुलले चेल्सीको सामना गर्नेछ भने आर्सनलले फ्लीटवुड टाउनसँग खेल्नेछ। एभर्टनले न्युक्यासल युनाइटेड तथा फुलहमले क्रिस्टल प्यालेसको सामना गर्नेछन्। सिटीले नर्विचलाई हराएमा अन्तिम १६ मा ब्राइटनसँग खेल्नेछ।