भोटेकोशी बाढीमा परी निधन भएकामध्ये हालसम्म एक हजार ४०३ जनाको शव फेला परेको छ। बाढीपश्चात् छ हजार १५० जना अझै सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको छ। उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

हालसम्म फेला परेका शवमध्ये १०५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि ‘डिएनए’ परीक्षणलगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाइएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ। बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार ८८९ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ। डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ। नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिइन्।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन्। भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि अझै सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।