उदयपुरको पश्चिमी भेग कटारीबाट सशस्त्र प्रहरी बलले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, ५ नं. हेडक्वाटर त्रियुगामातहत रहेको कटारी बेस क्याम्पको टोलीले कटारी नगरपालिका-६ स्थित साँघुरीबाट गाँजा बरामद गरेको हो।
बरामद गाँजाको परिमाण १ सय ३० किलो रहेको जनाइएको छ । गाँजा अज्ञातस्थलबाट ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा खटेको टोलीले खानतलासी लिँदा गाँजा फेला परेको हो । बुधबार राति गाँजा ल्याउँदै गरेको सुराकी पाएपछि खटेको टोलीले साँघुरीदेखि करिब ५ किलोमिटर दक्षिण चुरे जंगलमा गाँजा फेला परेको हो।
पैदल यात्रा गर्दै गाँजा बोकेर ल्याउदै गरेकाहरु भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नेबित्तिकै गाँजा त्यही छाडेर भागेकाले कोही पक्राउ नपरेको बताइएको छ। उनीहरुले छाडेर भागेको ठाउँबाट सशस्त्र टोलीले ५ वटा भरिभराउ बोरा फेला पारेको र त्यसलाइ खोलेर हेर्दा गाँजा रहेको जनाएको छ।
बरामद गाँजाबारे आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कटारीको जिम्मा लगाइएको छ। ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी कार्यका लागि पनि प्रहरीलाई जिम्मा दिइएको छ। इलाका प्रहरी कार्यालय कटारीले गाँजाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया