धनकुटा, चौबिसे गाउँपालिका-७, ठुलो ढुङ्गामा छोराले काठको दाउरा (चिर्पट) प्रहार गर्दा ७० वर्षीय बाबुको मृत्यु भएको छ। चिरपट प्रहार गर्ने ३२ वर्षीय छोरा युवराज लिम्बु पक्राउ परेका छन्।

२०८३ भदौ ११ गते बिहान करिब ५:४५ बजे युवराज लिम्बुले आफ्नै बुबा अन्दाजी ७० वर्षीय अमरध्वज लिम्बुको टाउकोमा काठको दाउरा (चिरपट) ले प्रहार गरेका थिए। प्रहारबाट अमरध्वजको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे बिहान ६:१५ बजे अस्थायी प्रहरी बिट मौनाबुधुक, धनकुटामा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जयप्रकाश रायको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घटनाको थप अनुसन्धान, खोजतलास तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

फरार रहेका युवराजको खोजतलास गर्ने क्रममा बिहान करिब ८:१५ बजे घरबाट करिब ५०० मिटर दक्षिणतर्फको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।