नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेकामध्ये आज बिहान १२३ जनाको हवाई उद्धार गरेको छ।

सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये आठ विदेशी रहेका छन्। उनीहरूमध्ये विदेशीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने बाँकीलाई धुन्चे ल्याउने तयारी भइरहेको छ।

त्यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको छ भने अन्य तीन वटा टनेलमा उद्धार भइरहेको सेनाले जनाएको छ। सेनाका टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरी काठमाडौँ ल्याउनेक्रम जारी भइरहेको छ।

सरकारले आज बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकाहरूमा खोजी, उद्धार र राहत कार्यलाई सरकारले थप तीव्रता दिएको छ। जोखिममा परेका नागरिकहरूको सहायताका लागि सेनाले हिजो राति नै आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पुर्‍याइसकेको छ।

उद्दार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्त्वपूर्ण सहयोग र सहकार्य रहेको छ। बुधबार बाढी आउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित सेना र निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरी उद्दार कार्य सुरु गरिएको थियो। सेनाको टोलीले रातभरि जमिनी (स्थलमार्गबाट) उद्दार कार्यलाई निरन्तर जारी राखेको थियो।

आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फसेकाहरूको उद्दार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ। सरकारले नदी किनाराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण संयन्त्रलाई राहत र उद्दारमा केन्द्रित गरेको छ।