सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक जारि रहेको पार्टीले जनाएको छ। बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव इश्वर पाेख्रेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताको सहभागिता रहेको छ।

यसअघि लामिछानेले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर संयमित तथा जिम्मेवार ढंगले अघि बढ्न पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेका थिए।

उनले बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्।