उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूले आठ वर्षको कार्यकालमा ऊर्जा क्षेत्रको संरचनामा आमूल परिवर्तन नगरेको भए आज देशमा तीन दिनमा एक दिन मात्र विद्युत् आउने भयावह अवस्था सिर्जना हुने दाबी गरेका छन्।

मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो नेतृत्वमा भएको पूर्वाधार विकासकै कारण मुलुक ऊर्जा संकटबाट मुक्त भएको बताए।

आफूले जिम्मेवारी सम्हाल्दा ८०० मेगावाटमा सीमित रहेको विद्युत् उत्पादन क्षमतालाई ५ हजार मेगावाटमा पुर्‍याएको उल्लेख गर्दै अध्यक्ष घिसिङले भने, ‘यदि त्यो संरचनागत परिवर्तन नभएको भए आज बत्ती, ग्यास र पेट्रोल केही पनि हुन्नथ्यो र देशको हालत निकै दयनीय हुन्थ्यो। आज हामी वार्षिक ३० अर्ब रुपैयाँको बिजुली निर्यात गर्ने अवस्थामा पुगेका छौं।’

विगत १०५ वर्षको इतिहासमा २५ सय मेगावाट मात्र रहेको सबस्टेसनको क्षमता आफ्नो आठ वर्षे कार्यकालमा बढाएर १५ हजार मेगावाट पुर्‍याइएको तथ्यांक उनले प्रस्तुत गरे।

यसैगरी, ३ हजार सर्किट किलोमिटरभन्दा कम रहेको प्रसारण लाइनलाई ८ हजार सर्किट किलोमिटरभन्दा माथि पुर्‍याइएको तथा १३२ केभीका पुराना संरचनालाई विस्थापित गरी २२० र ४०० केभीका आधुनिक प्रसारण लाइन र काठमाडौंमा भूमिगत प्रसारण प्रणाली निर्माण गरिएको उनले सुनाए।

पछिल्लो समय सबस्टेसन र ट्रान्सफर्मर पड्किने तथा उपकरणको गुणस्तरमाथि उठेका प्रश्नहरूको खण्डन गर्दै घिसिङले आफू आउँदा २५ हजारको संख्यामा रहेका ट्रान्सफर्मर हाल ८० हजारको हाराहारीमा पुगेको जानकारी दिए।

देशभरका १३० शाखामा नियमित आवश्यक पर्ने भएकाले टेन्डर प्रक्रियामार्फत ट्रान्सफर्मर मौज्दात राखिएको र मन्त्रालयकै सहसचिव नेतृत्वको छानबिन समितिले समेत ट्रान्सफर्मरको गुणस्तर सही रहेको प्रतिवेदन दिइसकेको उनले बताए।

आफूले व्यवस्थापन गर्न नसक्ने र समस्या आउनासाथ अघिल्लो नेतृत्वलाई दोष थोपर्ने सरकारी प्रवृत्तिको आलोचना गर्दै घिसिङले अहिलेको दुईतिहाइ बहुमतको सरकारलाई नीति, नियम र कानुन संशोधन गरेर काम गर्न चुनौती दिए।

वन तथा वातावरणीय अवरोध हटाउन कानुन संशोधन गर्ने अधिकार सरकारसँगै रहेको बताउँदै उनले अब बहानाबाजी नगरी विकास निर्माणलाई तीव्रता दिन र विकास दशक घोषणा गरेर अघि बढ्न आग्रह गरे।