काठमाडौंका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ बिक्री तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकाहरूको साथबाट ७७.६१ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ७६ हजार रुपैयाँ नगद, दुई थान डिजिटल तराजु र पाँच थान मोबाइल बरामद भएको छ। पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त गौशालाले काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने ३९ वर्षीय विकाश श्रेष्ठ, सिराहाको अर्नमा गाउँपालिका-२ घर भई काठमाडौं बस्ने ३० वर्षीय सुरज कुमार महत्तो र १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। किशोरको नाम प्रहरीले गोप्य राखेको छ।

उनीहरूको साथबाट ३७.९१ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, एक थान डिजिटल तराजु, ५५ हजार रुपैयाँ नगद र तीन थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, प्रहरी प्रभाग कोटेश्वरले पर्साको वीरगन्ज महानगरपालिका घर भई काठमाडौं गैरीगाउँ बस्ने २६ वर्षीय प्रदिप कुमार कुशवाह, सर्लाहीको गोडैता नगरपालिका-१० घर भई काठमाडौं कोटेश्वर बस्ने ३० वर्षीय चन्दन कुमार चौधरी, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-७ घर भई काठमाडौं तीनकुने बस्ने १६ वर्षीय विजय भुजेल, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-१ घर भई ललितपुर इमाडोल बस्ने २१ वर्षीय बिकेश मगर र महोत्तरीको जलेश्वर नगरपालिका-६ घर भई काठमाडौं तीनकुने बस्ने २९ वर्षीय अजित मिश्रलाई पक्राउ गरेको छ।

उनीहरूको साथबाट ३३.६ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, २१ हजार रुपैयाँ नगद र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी, प्रहरी वृत्त कीर्तिपुरले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भई कीर्तिपुर नगरपालिका-३ बस्ने २३ वर्षीय विरेन्द्र टमटालाई पक्राउ गरेको छ। उनको साथबाट ६.१० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद भएको पदार्थ खैरो हेरोइनजस्तो देखिने भए पनि यसको वास्तविक प्रकृति परीक्षण तथा अनुसन्धानबाट पुष्टि हुने जनाएको छ।