सिन्धुलीको कमलामाई नगरपालिका-२ ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार साँझ करिब ६:२० बजे इटहरीबाट काठमाडौं आउँदै गरेको प्र १-०२-००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंवाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८५ प ८९४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बडेश्वर गाउँपालिका-५ का १९ वर्षीय राजु यादव र पछाडि सवार सोही स्थानका २० वर्षीय रुपेश महतो घाइते भएका थिए। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल, सिन्धुली लगिएको थियो।

उपचारका क्रममा मोटरसाइकल चालक राजु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडि सवार रुपेश महतोको उपचार भइरहेको छ।

प्रहरीले ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका-२ का ३९ वर्षीय केशव भट्टराईलाई नियन्त्रणमा लिएको छ। ट्रकसहित उनलाई जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।