निरन्तरको बजार सुस्ती, घट्दो माग र बढ्दो व्यावसायिक अनिश्चितताका कारण नेपाली निजी क्षेत्र गम्भीर दबाबमा परेको छ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठले आफ्नो करिब ३६ वर्ष लामो व्यावसायिक यात्रामा व्यवसायीको मनोबल अहिलेको जस्तो कमजोर कहिल्यै नदेखेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित ‘नाडा अटो शो’को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए। आर्थिक गतिविधि संकुचित हुनु, बजारमा माग घट्नु र व्यवसाय सञ्चालनमा विभिन्न समस्या थपिँदै जानुले निजी क्षेत्रको मनोबल कमजोर बनेको उनको भनाइ थियो।

श्रेष्ठले सरकारले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ बनाउने तथा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारे पनि ती लक्ष्य प्राप्त गर्ने स्पष्ट कार्यदिशा र रणनीति निजी क्षेत्रले नदेखेको बताए।

‘केवल लक्ष्य घोषणा गरेर पुग्दैन, त्यसलाई हासिल गर्ने ठोस कार्ययोजना र प्रभावकारी कार्यान्वयन संयन्त्र आवश्यक छ,’ उनले भने, ‘निजी क्षेत्रको खस्कँदो मनोबल उकास्न नसकेसम्म सरकारका समृद्धिका लक्ष्य कागजमै सीमित हुने जोखिम हुन्छ।’

महासंघ अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्र मुलुकको अर्थतन्त्र र राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्‍याउने क्षेत्र भएकाले यसप्रति सरकारले गम्भीर र स्थिर नीति लिनुपर्ने बताए।

उनका अनुसार गत आर्थिक वर्षमा करिब १०६ अर्ब रुपैयाँ बराबरका अटोमोबाइल वस्तु आयात भएका थिए। त्यसबाट सरकारले करिब ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको उनले जानकारी दिए। करिब १८ खर्ब रुपैयाँको कुल आयातमा अटोमोबाइल क्षेत्रले उल्लेख्य राजस्व योगदान गरिरहेको उनको भनाइ थियो।

विगतमा उच्च भन्सार दर घटाएर स्वदेशमै उद्योग स्थापना गर्न प्रोत्साहन गरिए पनि अहिले स्वदेशी उद्योगले भोगिरहेका समस्याप्रति सरकार पर्याप्त संवेदनशील हुन नसकेको श्रेष्ठले गुनासो गरे।

लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने सरकारको प्राथमिकता सकारात्मक भए पनि निजी लगानीमा सञ्चालित उद्योग तथा व्यवसायका समस्यालाई पनि समान रूपमा सम्बोधन गर्नुपर्ने श्रेष्ठले बताए।

सरकारी संस्थान संरक्षण गर्ने नाममा निजी क्षेत्रका उद्योग तथा व्यवसायमाथि थप चुनौती सिर्जना गर्न नहुनेमा उनले सरकारको ध्यानाकर्षण गराए।

अर्थतन्त्रलाई नयाँ ढाँचामा अघि बढाउन तत्काल पुनर्संरचना, नीतिगत सुधार र लगानीमैत्री वातावरण आवश्यक रहेको उनले बताए। सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य तथा स्पष्ट रणनीति निर्माण गरेर मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने श्रेष्ठको भनाइ थियो।