भारतको महाराष्ट्रमा एकै परिवारका तीन जनाको ज्यान गएको घटनामा नयाँ रहस्य बाहिर आएको छ।

सुरुमा १८ वर्षीय कुणाल चन्दगुडेले आईफोनको किस्ता तिर्न नसकेर परिवारसँग विवाद भएपछि यो दुर्घटना भएको दाबी गरिएको थियो। तर कुणालकी मावलीतर्फकी आफन्त पल्लवी पाटिलले यो दाबीलाई ‘अफवाह’ भन्दै खारेज गरेकी छन्। उनले परिवारको वास्तविक अवस्थाबारे नबुझी भ्रामक कुरा फैलाइएको दाबी गरेकी हुन्।

गत शुक्रबार कुणाल छत्रपति सम्भाजीनगरको तिसगाउँ क्षेत्रस्थित खवड्या पहाड (खावड्या डोंगर) मा पुगेका थिए। उनलाई सुरक्षित तल ल्याउन परिवार, स्थानीय बासिन्दा, प्रहरी र फायर ब्रिगेडले करिब तीन घण्टा प्रयास गरेका थिए। सोही क्रममा उनका बुबा मुरलीधर पनि छोरालाई सम्झाउन पहाडमा गएका थिए। दुवै जना पहाडबाट खसेपछि घटनास्थलमै ज्यान गएको थियो। त्यसलगत्तै आमा संगीता पनि विक्षिप्त हुँदै पहाडबाट खसेर ज्यान गुमाउन पुगिन।

सुरुमा कुणालले किस्ताबन्दीमा एप्पलको आईफोन किनेको र पैसा तिर्न नसक्दा आमाबाबुसँग विवाद भएको कुरा बाहिर आएको थियो। तर संगीताकी बहिनी पल्लवी पाटिलले यो दाबी सत्य नभएको बताइन्। आफन्तहरूको अन्तिम संस्कारपछि घर फर्किने क्रममा उनले भिडियो सन्देशमार्फत सामाजिक सञ्जालमा फैलिएका गलत अफवाहप्रति कडा आपत्ति जनाइन्।

‘तपाईंले भनिरहनुभएको कुराले हामीलाई ठूलो पीडा दिइरहेको छ,’ पाटिलले भनिन्। उनका अनुसार पारिवारिक विवादका कारण उनले उक्त कदम चालेका हुन्। कुणालसँग पहिले नै आईफोन रहेको दाबी समेत गरिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आईफोनलाई मुख्य कारण नदेखाएको र परिवारभित्र गहिरो मतभेद रहेको संकेत गरेको छ। सोहीकारण अहिले फोनका कारण ज्यान दिएको कुरा सत्य नभएको तर्क परिवारको छ।

सामाजिक सञ्जालमा परिवारको मृत्युबारे विनासन्दर्भका कथा बनाउनेहरूलाई लक्षित गर्दै उनले वास्तविकताबाट बेखबर मान्छेहरूले भ्रम छरेको बताइन्। परिवारका वृद्ध आमाबाबुलाई यस्ता भ्रामक कुराले झन् गहिरो चोट पुगेको उनको भनाइ छ। आफन्तहरूका अनुसार कुणालले आमाबाबुलाई एकसाथ राख्न चाहेका थिए।

प्रहरीका अनुसार मुरलीधर ट्रक चालक थिए भने संगीता गृहिणी थिइन्। उनीहरूले करिब छ वर्षअघि बिरामीका कारण जेठो छोरा गुमाएका थिए। त्यसपछि दम्पतीबिच मनमुटाव बढेको र केही समय छुट्टै बस्न थालेको स्रोतको दाबी छ। मुरलीधर कामको सिलसिलामा लामो समय बाहिरै बस्ने र घटना हुनुभन्दा दुई दिनअघि मात्र घर फर्किएका थिए। कुणाल गत वर्ष (२०२५) मा पनि सोही पहाडमा आईफोनको माग पूरा नभएपछि पुगेका थिए। उक्त समयमा प्रहरीले सम्झाएर फर्काएका थिए। यस पटक भने फरक कारण रहेको प्रहरीले जनाएको छ।

यसैबिच प्रहरीले संगीताले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा पुरानो भिडियो पनि फेला पारेको छ। उक्त भिडियोमा उनले सम्पत्ति र पारिवारिक सम्बन्धप्रति ठूलो असन्तुष्टि पोखेकी थिइन्। संगीताको युट्युब च्यानलमा २९ हजारभन्दा बढी सब्सक्राइबर थिए। उनले नियमित रूपमा भिडियो बनाउने गरेकी थिइन्। कुणाल राम्रो विद्यार्थी रहेको र एनईईटी परीक्षाको तयारी गरिरहेको आफन्तहरूले बताएका छन्।

आईफोनको ईएमआई विवादलाई मुख्य कारण भनिए पनि आफन्तले यसलाई ठाडै अस्वीकार गरेका छन्। यद्यपि परिवारभित्रको लामो समयदेखिको तनाव, सम्बन्धमा आएको खटपट र सम्पत्तिसम्बन्धी विवादले यो घटनालाई थप रहस्यमय बनाएको छ। घटनाको यथार्थ विवरण भने प्रहरी अनुसन्धानपछि मात्र खुल्नेछ।