सरकार र वैदेशिक रोजगार व्यवसायीबीच भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएसँगै व्यवसायीहरूले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
सहमति जुटेसँगै व्यवसायीहरूले मंगलबारदेखि नै वैदेशिक रोजगारसम्बन्धी सबै सेवा पूर्ववत् रूपमा सञ्चालन गर्ने भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सोमबार भएको वार्तामा व्यवसायीहरूले अघि सारेका मागहरू आगामी ४५ दिनदेखि दुई महिनाभित्र सम्बोधन गर्ने सहमति भएको हो।
वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउँदा लाग्ने सेवा शुल्क परिमार्जनसहित १५ बुँदे माग सम्बोधनका लागि दबाब दिँदै आएका व्यवसायी र मन्त्रालयबीच सोमबार बिहान ७ बजेदेखि साढे १० बजेसम्म झन्डै चार घण्टा वार्ता भएको थियो।
मन्त्रालयले निश्चित समयावधिभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि दुई पक्षीय सहमति जुटेको हो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतले मन्त्रालयसँगको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जानकारी दिए।
वरिष्ठ उपाध्यक्ष बस्नेतका अनुसार सहमति भएसँगै मंगलबारदेखि नै म्यानपावर व्यवसायीहरूले आफ्ना कार्यालयहरू खोलेर नियमित सेवा प्रवाह गर्नेछन्।

प्रतिक्रिया