जुम्लाको सदरमुकाम खलंगामा सोमबार बिहानैदेखि चहलपहल थियो। जिल्ला प्रशासन कार्यालयअगाडिको दरबारमालिका मन्दिरमा पूजाआजा चलिरहेको थियो।
नेपाली सेनाको सलामी, प्रहरी र सशस्त्र प्रहरीको बाजागाजा तथा बिगुलको धुनसँगै धार्मिक वातावरण बन्यो। केही बेरपछि अक्षता, ध्वजा र पूजाका सामग्रीसहितको डोली बोकेर सरकारी टोली बाजुरातर्फ लाग्यो। यो बडिमालिका दर्शनको मात्रै यात्रा थिएन।
डोलीसँगै जुम्लाको इतिहास, परम्परा र पुस्तौँदेखिको आस्था पनि यात्रामा निस्किएको थियो। तत्कालीन जुम्ला र डोटी राज्यले संयुक्त रूपमा बडिमालिका पूजा गर्ने परम्पराको निरन्तरताका रूपमा हरेक वर्ष जुम्लाबाट सरकारी टोली बडिमालिका जाने गर्छ।
शासन व्यवस्था फेरियो, राज्यको सीमा र प्रशासनिक संरचना फेरिए, तर बडिमालिकाको पूजा गर्ने यो परम्परा भने जुम्लामा अझै जीवित छ।
यस पटक जिल्ला प्रशासन कार्यालय जुम्लाका खरिदार तिलकप्रसाद तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय सरकारी टोली बडिमालिका यात्रामा निस्किएको हो।
टोलीसँगै गाउँ गाउँबाट आएका भक्तजन पनि सहभागी छन्। प्रमुख जिल्ला अधिकारी जयप्रकाश प्रसाईँ, प्रहरी प्रमुख डिएसपी चिरञ्जीवी दाहाल, सशस्त्र प्रहरी बल ३३ नम्बर गणका एसपी देवबहादुर बोहोरालगायत सुरक्षा अधिकारी, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र स्थानीय भक्तजनले टोलीलाई अक्षता र ध्वजापतका दिएर बिदाइ गरे।
दरबारमालिका मन्दिरमा पूजा सकेपछि नेपाली सेनाले बटुक भैरवनाथ, चन्दननाथ र दरबारमालिकालाई सलामी अर्पण गर्यो। जिल्ला प्रशासन कार्यालयअगाडिबाट सुरु भएको यात्रा जिल्ला प्रहरी कार्यालयमा रहेको बडिमालिका माईको सलामीपछि बाजुरातर्फ अघि बढ्यो।
ब्यान्ड बाजा, ढोल र बिगुलको धुनबीच डोली अघि बढ्दा खलंगा धार्मिक यात्राको सुरुवाती बिन्दुमा परिणत भयो। गाउँ गाउँबाट आएका भक्तजनले आफ्ना नासो टोलीलाई सुम्पिए।कसैले ध्वजा पठाए, कसैले अक्षता,कसैले फूलपाती र फलफूल।
कसैले मार्सी धानको अक्षता र भेटी सबैको उद्देश्य एउटै थियो। बडिमालिका माताको पूजा र आफ्ना मनोकामनाको भाकल। बडिमालिका माताका लागि जुम्लाबाट हरेक वर्ष विशेष पूजाका सामग्री पठाउने परम्परा छ।
जिल्ला प्रशासन कार्यालयले यस वर्ष पनि सुनको टीका, चाँदीको बिनायो, मुरुली, काँगियो र छत्र गरी पाँच प्रकारका सामग्री तयार गरी पेटारो झोलीमा राखेर पठाएको छ। जुम्लाबाट लगिएको अक्षता र फूलपाती बडिमालिका मन्दिरमा चढाइनेछ।
भक्तजनले पठाएका ध्वजा, अक्षता र अन्य नासो पनि पूजामा प्रयोग हुनेछन्। बडिमालिका माताको दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वासले यो यात्रालाई बर्सेनि विशेष बनाउँदै आएको छ।
त्यसैले डोली बिदाइका लागि खलंगामा गाउँ गाउँबाट भक्तजन आएका थिए। बडिमालिका जाने परम्परा तत्कालीन बडाहाकिमको नेतृत्वसँग जोडिएको छ।
त्यसपछि अञ्चलाधीश कार्यालयको मातहतमा पूजाआजा कार्यक्रम सञ्चालन भयो। अहिले जिल्ला प्रशासन कार्यालयले त्यसको निरन्तरता दिएको छ।
कार्यालय फेरिए। जिम्मेवारी फेरियो। तर परम्परा फेरिएन। यसैले बडिमालिकाको डोली जुम्लाका लागि धार्मिक आस्थाको प्रतीक मात्र नभई इतिहासको एउटा जीवित दस्ताबेज पनि बनेको छ।
खलंगाबाट निस्किएको टोलीले बडिमालिका पुगेर पुनः जुम्ला फर्कन करिब १७ दिन पैदल यात्रा गर्नेछ। आजको पहिलो बास तातोपानीमा हुनेछ।लामो र कठिन यात्रामा सरकारी टोलीसँगै गाउँ गाउँबाट भक्तजन थपिँदै जानेछन्।
बाटोमा भेटिने बस्तीहरूमा धार्मिक आस्था र परम्पराले यात्रालाई निरन्तरता दिनेछ। बडिमालिकाबाट फर्किएपछि सिंजाको कनकासुन्दरी मन्दिरमा पूजाआजा गर्ने अर्को परम्परा छ।
यसले बडिमालिका यात्रालाई जुम्लाकै प्राचीन धार्मिक तथा सांस्कृतिक इतिहाससँग जोड्छ। कृष्ण जन्माष्टमीको अघिल्लो दिन टोली जुम्ला फर्कने र भोलिपल्ट ‘लाख्य काट्ने’ चलन रहेको स्थानीय बताउँछन्।
साउन शुक्ल पूर्णिमा अर्थात् नागपञ्चमीका दिन तत्कालीन जुम्ला र डोटी राज्यले संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने चलन थियो। डोटी–बाजुराबाट आउने टोली र जुम्लाबाट जाने टोली बडिमालिकामा पुगेर संयुक्त पूजा गर्ने परम्परा अझै कायम छ।
बडिमालिकाको यात्रा एउटा मन्दिरसम्म पुग्ने बाटो मात्रै होइन, कर्णाली र सुदूरपश्चिमबिचको पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्ध सम्झाउने अवसर पनि हो।
खलंगाबाट सोमबार अघि बढेको डोलीसँगै जुम्लाका गाउँ बस्तीका आस्था, भाकल र नासो पनि यात्रामा छन्। डोली बडिमालिका पुग्नेछ, पूजा हुनेछ र टोली फर्कनेछ। तर त्यससँगै बोकेर लगिएको जुम्लाको इतिहास र परम्परा भने अर्को वर्ष फेरि यही बाटोमा निस्कनेछ।

प्रतिक्रिया