यसअघि गणपूरक संख्या नपुगेर रोकिएको ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। बैठकले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो।

यसअघि गत साउन २६ गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि यो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न कम्तीमा ६९ जना सांसदको उपस्थिति आवश्यक पर्नेमा तीन मिनेट घण्टी बजाएर संख्या यकिन गर्दा सदनमा ६१ जना सांसद मात्रै उपस्थित थिए।

आवश्यक संख्या नपुगेपछि सभामुख अर्यालले उक्त विधेयकलाई अर्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने भन्दै त्यस दिनको प्रक्रिया स्थगित गरेका थिए। सोमबारको बैठकले यसलाई अघि बढाएसँगै विधेयकमाथिको थप संसदीय प्रक्रिया सुरु भएको छ।