त्रिभुवन विश्वविद्यालयअन्तर्गत खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमको प्रथम एलुम्नाई सभा कीर्तिपुरमा सम्पन्न भएको छ।
सभाले पूर्वविद्यार्थीहरूलाई एउटै संस्थागत सञ्जालमा जोड्दै खेलकुद विज्ञानको प्राज्ञिक, अनुसन्धानात्मक तथा व्यावसायिक दायरा फराकिलो बनाउने उद्देश्यका साथ चन्दन कोजुको संयोजकत्वमा १५ सदस्यीय एलुम्नाई एसोसिएसन तदर्थ समिति गठन गरेको छ।
गठित तदर्थ समितिको सदस्यहरूमा पुष्करराज पन्त, कृष्ण तिमिल्सिना, राजकुमार कार्की, संयुक्ता शाक्य र सुनकेशरी माली चयन भएका छन्।
यसैगरी आशिष अवाले, रविन्द्र सिलाकार, रामचन्द्र ठाकुर, राजीव जोशी, विवेन्द्र महर्जन, राकेश कुमार राई, अनिल अधिकारी, उत्सव रुपाखेती र चयुना चर्ती मगर पनि सदस्य रहेका छन्।
नवगठित समितिलाई एलुम्नाई एसोसिएसनको संस्थागत संरचना निर्माण, विधान तर्जुमा, पूर्वविद्यार्थीहरूको सदस्यता विस्तार तथा आगामी साधारण सभाको तयारी गर्ने जिम्मेवारी तोकिएको छ।
सभाका क्रममा एलुम्नाई एसोसिएसन र नेपाल विद्यालय खेलकुद महासंघबीच छात्रवृत्ति तथा शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षरसमेत भएको छ।
यस सहकार्यले आर्थिक तथा भौगोलिक कठिनाइका कारण खेलकुद विज्ञानको अध्ययनबाट वञ्चित हुन सक्ने जेहेन्दार एवं प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर जुटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा खेलकुद विज्ञान विधाको प्राज्ञिक विकासमा योगदान पुर्याएका कार्यक्रमका पूर्वसंयोजक प्रा.डा. रामकृष्ण महर्जन तथा पूर्वसंयोजक एवं वरिष्ठ प्रशिक्षक गङ्गाबहादुर थापा मगरलाई सम्मान गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. दुविनन्द ढकालले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा स्नातक तहमै खेलकुदसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए।
आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगिसकेकाले सम्भवतः आगामी शैक्षिक वर्षदेखि नै यो शैक्षिक कार्यक्रम सुरु हुने उनको भनाइ थियो।
सभाका सहभागीहरूले खेलकुद विज्ञानलाई परम्परागत शिक्षा र प्रशिक्षणमा मात्र सीमित नराखी अनुसन्धान, स्वास्थ्य, खेल मनोविज्ञान, पोषण, बायोमेकानिक्स, तथ्याङ्क विश्लेषण, खेल व्यवस्थापन तथा राष्ट्रिय नीति निर्माणसँग जोड्न एलुम्नाई सञ्जालले सेतुको काम गर्नुपर्ने आवश्यकता औँल्याए।
विश्वविद्यालयबाट उपाधि हासिल गरेपछि पनि शिक्षण संस्थासँग निरन्तर सम्बन्ध कायम राख्दै पूर्वविद्यार्थीको ज्ञान, अनुभव र व्यावसायिक सञ्जाललाई विश्वविद्यालय तथा समग्र नेपाली खेलकुद क्षेत्रको विकासमा उपयोग गर्ने लक्ष्य एसोसिएसनले लिएको छ।
पहिलो सभाबाट सङ्गठन निर्माण, छात्रवृत्ति सम्झौता, अग्रजको सम्मान र खेलकुद शिक्षाको विस्तारलाई एउटै अभियानका रूपमा अघि बढाइएको छ।

प्रतिक्रिया