एक दशकदेखि पूर्ण रूपमा बन्द रहेको ऐतिहासिक गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारी स्तरबाट सम्भाव्यता अध्ययन सुरु भएको छ।

गोरखा क्षेत्र नं-२ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीको नेतृत्वमा अर्थ, उद्योग र कानुन मन्त्रालयका प्रतिनिधि तथा विज्ञहरूको टोलीले शनिबार गोरखा नगरपालिका-१३ मझुवास्थित उद्योग परिसरको विश्लेषकीय अध्ययन तथा स्थलगत अनुगमन गरेको हो।

सांसद बुर्लाकोटीले उद्योग पुनः सञ्चालनका लागि कानुनी र आर्थिक सम्भावनाहरूको विश्लेषण गरिने बताए। ‘हामीले तीनवटै मन्त्रालयका प्रतिनिधिसहित उद्योगको विश्लेषकीय भ्रमण गरेका छौं,’ सांसद बुर्लाकोटीले भने, ‘उद्योग सञ्चालनका कानुनी तथा आर्थिक पाटाहरूबारे विस्तृत छलफल गरेर छिट्टै ठोस आर्थिक प्रस्तावना तयार गरिनेछ।’

चीन सरकारको सहयोगमा वि.सं. २०४१ जेठ ३० गते स्थापना भएको यस उद्योगको वि.सं. २०४२ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले शिलान्यास गरेका थिए। वि.सं. २०५० देखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले वार्षिक करिब ८८ हजार थान टायर उत्पादन गर्ने क्षमता विकास गरेको थियो।

करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले ट्रक, जीप, भ्यान र कारका विभिन्न प्रकारका टायर उत्पादन गरी देशभरका डिपोमार्फत बिक्री गर्दै आएको थियो।

स्वदेशी मागको ठूलो हिस्सा धान्नुका साथै यहाँ उत्पादित टायर भारत, बङ्गलादेश र श्रीलङ्कालगायतका दक्षिण एसियाली मुलुकहरूमा निर्यातसमेत हुने गर्दथ्यो।

सरकार, सर्वसाधारण तथा विभिन्न सङ्घसंस्थाको ठूलो लगानी रहेको यो उद्योग वि.सं. २०७१ चैत २३ गतेदेखि पूर्ण रूपमा बन्द भएको थियो।

लामो समयदेखि उद्योग सञ्चालनमा नआउँदा राज्यको ठूलो लगानी, भौतिक संरचना र बहुमूल्य मेसिनरीहरू प्रयोगविहीन तथा जीर्ण अवस्थामा पुगेका छन्।