नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाका दुई महत्त्वपूर्ण सडकको विस्तार तथा स्तरोन्नति सम्पन्न भएको छ भने एक सडक निर्माणाधीन अवस्थामा रहेको छ।

पोखरा–३० स्थित ४ दशमलव १४ किलोमिटर लामो ‘शिशुवा–-खुदीखोला’ सडक निर्माण सकिएर उद्घाटन भइसकेको छ भने पोखरा–३३ को ‘कालिकास्थान-लामेआहाल-पुँडीटार’ सडक निर्माण पूरा भई हस्तान्तरणको प्रक्रियामा छ। यस्तै, पोखरा-२७ तालचोकदेखि पोखरा-३१ बेगनास जोड्ने चार लेनको सडक भने निर्माणाधीन छ।

सङ्घीय सरकारको समन्वयमा सञ्चालित आयोजनाका स्रोतव्यक्ति इन्जिनियर नवीन गौतमका अनुसार शिशुवा-खुदीखोला सडक विश्व बैंकको ४८ करोड ९६ लाख ३५ हजार २५४ लागतमा निर्माण भएको हो।

नालीसहित १५ मिटर चौडा यस सडकमा दुई लेन, १.५ मिटरको साइकल लेन र २.५ मिटरको फुटपाथ ट्रयाक रहेको छ। आशिष निर्माण सेवाले वि.सं. २०८१ वैशाख २ गते सम्झौता गरी निर्धारित समयमै काम सम्पन्न गरेको हो।

यसैगरी, पोखरा भित्रिने वैकल्पिक मार्गका रूपमा हेरिएको १२ दशमलव ४४ किलोमिटर लामो कालिकास्थान-लामेआहाल-पुँडीटार सडक पनि आशिष निर्माण सेवाले नै रु ७७ करोड ६८ लाखमा गत असारमै सम्पन्न गरेको छ।

पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले सडकको दायाँबायाँ तीन मिटरमा फलफूलका बिरुवा रोप्ने योजना रहेको बताए। तनहुँको कोत्रे हुँदै बाघमारा भएर पोखरा जोड्ने यो सडकले स्थानीय कृषि उपजको बजारीकरण तथा आवागमनमा ठूलो टेवा पुग्ने उनको भनाइ छ।

निर्माणमा ढिलासुस्ती भएको ३ दशमलव २८ किलोमिटर लामो ‘तालचोक-बेगनास’ चार लेन सडक भने आगामी कात्तिक मसान्तसम्म सम्पन्न गर्ने गरी अन्तिम पटक म्याद थप गरिएको छ।

महानगरप्रमुख धनराज आचार्यले जग्गाको मापदण्डलगायतका विवाद समाधान भइसकेकाले तोकिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए।

१ अर्ब ४९ करोडको लागत अनुमान रहे पनि ‘स्वच्छन्द-सपना-वर्ल्डवाइड जेभी’ सँग भ्याटसहित ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले जानकारी दिए।

वि.सं. २०७९ चैतदेखि काम सुरु भएको यस सडकमा फुटपाथ, साइकल लेन, सडक बत्ती, पार्किङ, तीनवटा पुल, बगैँचा तथा यात्रु प्रतीक्षालय निर्माण भइरहेको छ।

पृथ्वी राजमार्गबाट सुरु भई बेगनास र रुपा गाउँपालिका हुँदै लमजुङ जोड्ने यो सडक महानगरको गौरवको आयोजना हो। सन् २०२१ मार्चमा पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएर यसको निर्माण प्रक्रिया अघि बढेको थियो।