नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई देशको आमूल परिवर्तन र जनताको सेवाका लागि बनेको पार्टी भएको बताएका छन्।

उनले पार्टीका नेता-कार्यकर्ताहरूलाई पदको पछाडि नलागी अग्रजहरूको त्याग र बलिदानबाट पाठ सिकेर अघि बढ्न निर्देशन दिएका छन्।

नेकपा (एमाले) झापाद्वारा बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हामी पाउँला र खाउँला भनेर स्वार्थका लागि होइन, परिवर्तनका लागि हिँडेका हौं। देश र जनताका लागि के दिएँ भन्ने कुरा हरदम सम्झिन जरुरी छ।’

अध्यक्ष ओलीले पार्टीलाई केवल सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा समेत मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘पार्टीमा वास्तविक सदस्यको मात्र नवीकरण हुनुपर्छ, गैरसदस्यको नवीकरण पूर्ण रूपमा बन्द गरिनुपर्छ।’

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष र एमाले स्थापनाको ७७ वर्ष पुगेको इतिहास स्मरण गराउँदै अध्यक्ष ओलीले आन्दोलन जोगाउन पार्टीलाई विभिन्न कालखण्डमा पुनर्गठन गर्दै अघि बढाइएको बताए।

वि.सं. २०२९ देखि २०३२ सालसम्मको आफ्नो राजनीतिक उतारचढाव र जेल जीवनका कठिन दिनहरूको चर्चा गर्दै उनले विश्वभर कम्युनिस्ट आन्दोलन कमजोर पार्न खोजिँदा पनि सिद्धान्त र निष्ठाकै बलमा एमालेलाई बलियो बनाइएको दाबी गरे।

पदको पछाडि नदौडी देश र जनताका लागि निःस्वार्थ त्याग तथा बलिदान गर्न तयार हुने भावना नै एमाले कार्यकर्ताको वास्तविक पहिचान भएको उनको भनाइ थियो।

कार्यक्रममा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईलगायत पार्टीका शीर्ष नेताहरूले अभियानको महत्त्व र समसामयिक राजनीतिबारे धारणा राखेका थिए।