फुटबलका समर्थकहरू ट्रान्सफर विन्डो सुरु हुनेबित्तिकै जहिल्यै उत्साहित हुन्छन् र कल्पनामा दौडिन थाल्छन्। कुनै चर्चित खेलाडी आफ्नो क्लबमा आउने चर्चा चल्यो भने त उनीहरू उपाधिकै सपना देख्ने गर्छन्। तर, फुटबलमा यस्ता अनगिन्ती ट्रान्सफर छन्, जुन अन्तिम क्षणमा असफल भए।
तीमध्ये केहीले क्लबहरूको भविष्य नै बदल्न सक्थे। साथै केही खेलाडीको करियरले ठूलो उचाइमा पुग्न सक्थ्यो। केही वर्षअगाडि नाइजेरियाली स्ट्राइकर गिफ्ट ओर्बानको कथा यस्तै एउटा उदाहरण हो। टोटेनहम हट्सपरका तत्कालीन स्टार ह्यारी केनको उत्तराधिकारी बन्न सक्ने खेलाडीका रूपमा ओर्बानलाई लिइएको थियो। सन् २०२३ मा २१ वर्षे ओर्बान युरोपेली फुटबलका सबैभन्दा चर्चित युवा स्ट्राइकरमध्ये एक थिए। नर्वेको स्टाबेकबाट २२ खेलमा १६ गोल गरेपछि उनी बेल्जियमको जेन्ट पुगे। त्यहाँ पनि उनको गोल वर्षा रोकिएन। २२ खेलमै उनले २० गोल गरे। यसपछि युरोपेली क्लबहरूको ध्यान उनमा प¥यो। मार्च २०२३ को चार दिनको अन्तरालमा उनले दुई खेलमा सात गोल गरे।
जुल्टे वारेगेमविरुद्ध ६–२ को जितमा चार गोल गर्दै उनी २१औं शताब्दीमा एउटै खेलमा चार गोल गर्ने गेन्टका पहिलो खेलाडी बने। त्यसको केही दिनपछि कन्फरेन्स लिगको अन्तिम १६ मा इस्तानबुल बासाकसेहिरविरुद्ध ओर्बानले तीन मिनेट २५ सेकेन्डमै ह्याट्रिक पूरा गरे। त्यो समयसम्म युइएफएका क्लब प्रतियोगिताहरूमा सबैभन्दा छिटो ह्याट्रिकको कीर्तिमान बन्यो। त्यति बेला टोटेनहमका केन जर्मन क्लब बायर्न म्युनिख जाने निश्चित भइसकेको थियो। टोटेनहम नयाँ स्ट्राइकरको खोजीमा देखिन्थ्यो। त्यसैले केनको सम्भावित उत्तराधिकारीका रूपमा उनै ओर्बानलाई हेरियो। के आर्बान ग्लोबल स्टार बन्छन् भन्ने हेडलाइन पनि बने। इङ्लिस सञ्चारमाध्यमले पनि उनलाई भविष्यको विश्वस्तरको स्टारसम्म घोषणा गर्न थाले। तर, टोटेनहममा नयाँ प्रशिक्षक भित्रिएपछि अनुमानअनुरूप भएन।
नयाँ प्रशिक्षक एन्ज पोस्टेकोग्लुको प्रशिक्षणमा टोटेनहमले दुई मिलियन पाउन्ड मूल्य तिर्न हिचकिचायो। वार्ता रोकियो र ट्रान्सफर कहिल्यै पूरा भएन। पछि ओर्बानको यात्रा भने अपेक्षाअनुसार अघि बढेन। पछिल्ला तीन वर्षमा उनले चार क्लब फेरे। जेन्ट, लियोन, होफेनहाइम हुँदै गत साता मात्रै उनी टर्कीको शीर्ष डिभिजनमा नवप्रवेशी आमेदस्पोरमा लोन सम्झौतामा पुगेका छन्। बिचमा इटालीको भेरोनाबाट सात गोल गरे पनि उनले एक समय देखिएको आशा पुनः फर्काउन सकेका छैनन्। तर फुटबल इतिहासमा सबै असफल ट्रान्सफरको अन्त्य ओर्बानजस्तो भएको छैन। अन्यको असफल ट्रान्सफरले नयाँ उचाइ पनि छोएको छ।
म्यानचेस्टर सिटीले गुमाएका काका
सन् २००९ को जनवरीमा अबुधाबी समूहले खरिद गरेपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले विश्व फुटबललाई चकित पार्ने प्रस्ताव ग¥यो। इटालियन क्लब एसी मिलानका ब्राजिलियन स्टार काकाका लागि सिटीले १०८ मिलियन पाउन्डको प्रस्ताव राख्यो। त्यति बेला विश्व कीर्तिमान ट्रान्सफर रकमभन्दा दोब्बर बढी थियो त्यो। एक समर्थकले काका आउनेमा विश्वस्त हुँदै आफ्नो छातीमै उनको नामको ट्याटुसमेत खोपे। तर सन् २००७ का बालोन डिअ’र विजेता तथा प्लेमेकर काकाले समय उपयुक्त नभएको भन्दै सिटीको उक्त प्रस्ताव अस्वीकार गरे। केही महिनापछि उनी विश्व कीर्तिमानी ५६ मिलियन पाउन्डमा रियाल मड्रिड पुगे। त्यहाँ उनले ला लिगा र कोपा डेल रे जिते। केही सफलतापछि उनी एसी मिलान फर्किए। करियरको उत्तरार्धमा उनी अमेरिकाको ओरलान्डो सिटी गए र ब्राजिलको साओ पाउलोमा पुगेर उनको करियर अन्त्य भयो।
रिभाल्डो ः बोल्टनको युरोपेली सपना
सन् २००४ मा स्याम एलार्डाइसको प्रशिक्षणमा बोल्टन वान्डरर्स इङ्लिस प्रिमियर लिगको आश्चर्यजनक टोली बनेको थियो। एलार्डाइसले त्यति बेला ब्राजिलका विश्वकप विजेता ३२ वर्षे रिभाल्डोलाई क्लबमा ल्याउने प्रयास गरे। एसी मिलानमा अवसर गुमाइरहेका रिभाल्डोले पनि बोल्टनलाई युरोपेली प्रतियोगितामा पु¥याउने चुनौती लिन चाहेका थिए। तर, अन्तिम समयमा उनले निर्णय बदले र ग्रिसको ओलम्पियाकोस रोजे। बोल्टन भने त्यस सिजन लिग (२००४÷०५) मा छैटौं स्थानमा रहँदै युइएफए कपका लागि छनोट भयो। लिभरपुलसँग अंक बराबरी पनि टोली युइएफ कपमा पुग्यो र अन्तिम ३२ सम्म यात्रा तय ग¥यो। रिभाल्डो भने एइके एथेन्स, उज्बेकिस्तान, अंगोला हुँदै ब्राजिल फर्किए।
जिदानभन्दा शेरवुड उत्कृष्ट
फुटबल इतिहासकै सबैभन्दा चर्चित के हुन्थ्यो होला। यदि ट्रान्सफरमध्ये एक जिनेदिन जिदानको ब्ल्याकबर्न रोभर्स पुगेको भए ? सन् १९९५ मा प्रिमियर लिग जितेको ब्ल्याकबर्नलाई बोर्डका सदस्यहरूले बोर्डोका युवा मिडफिल्डर जिदान र स्ट्राइकर क्रिस्टोफ डुगारी अनुबन्धित गर्न सुझाव दिएका थिए। तर क्लब मालिक ज्याक वाकरको एउटा जबाफ फुटबल इतिहासमै चर्चित बन्यो। ‘हामीसँग टिम शेरवुड हुँदा जिदान किन चाहियो ?’ त्यसपछि जिदानले युभेन्ट्स, रियाल मड्रिड र फ्रान्सबाट विश्व फुटबलमा इतिहास नै लेखे। उनले विश्वकप, युरोपियन च्याम्पियनसिप, दुई सिरी ए, ला लिगा र च्याम्पियन्स लिग जिते। डुगारीले पनि एसी मिलान, बार्सिलोना, मार्सेइल र बोर्डोबाट खेल्दै सफल करियर बनाए। त्यति बेला टिम शेरवुडले केही महिनाअघि मात्रै ब्ल्याकबर्नसँग प्रिमियर लिगको उपाधि जितेका थिए। जिदान र क्रिस्टोफ दुवै ब्ल्याकबर्नसँग छलफल गर्न इङ्ल्यान्डसम्म पुगे। तर अन्ततः कुनै सम्झौता हुन सकेन।
चेल्सी पुग्नै लागेर रोकिएका जेरार्ड
सन् २००५ मा लिभरपुलले कप्तान स्टेभन जेरार्डको नेतृत्वमा च्याम्पियन्स लिगको ऐतिहासिक पुनरागमन गर्दै उपाधि जित्यो। त्यसपछि जेरार्डले ट्रान्सफरका लागि अनुरोध गरे। जोसे माउरिन्होको चेल्सी उनलाई ३२ मिलियन पाउन्डमा अनुबन्धित गर्न इच्छुक थियो। उनको सबै संकेत स्टामफोर्ड ब्रिजतर्फ देखिन्थ्यो। तर, जेरार्डले अन्तिम समयमा निर्णय बदले। उनले पारिवारिक कारण देखाउँदै लिभरपुलमै बस्ने घोषणा गरे। त्यसपछि उनले ७०० भन्दा बढी खेल खेल्दै क्लबका महान् कप्तानका रूपमा आफ्नो पहिचान स्थापित गरे। उनले सन् २००७ मा पनि क्लबलााई च्याम्पियन्स लिग फाइनलमा पु¥याए। तर, यसपल्ट एसी मिलानले बदला लियो। दशकौंपछि माउरिन्होले जेरार्डलाई अनुबन्धित गर्न नसक्नु आफ्नो प्रशिक्षण जीवनकै सबैभन्दा ठूलो ट्रान्सफर निराशामध्ये एक भएको स्विकारेका थिए।
एमबाप्पेकी आमाको मन पर्ने टोली
आज विश्व फुटबलका उत्कृष्ट स्ट्राइकरमध्ये एक किलियन एमबाप्पे सन् २०१७ मै लिभरपुल पुग्न सक्थे। त्यति बेला मोनाकोबाट उदाइरहेका एमबाप्पेसँग लिभरपुलले भिœयाउन वार्ता गरेको थियो। प्रशिक्षक योर्गान क्लोपले एमबाप्पे र उनको परिवारका लागि निजी विमानदेखि विशेष आतिथ्यसम्मको व्यवस्था गरेका थिए। एमबाप्पेले पनि लिभरपुल आफ्नी आमाको सबैभन्दा मन पर्ने क्लब भने। अन्ततः उनले पेरिस सेन्ट जर्मेन (पिएसजी) रोजे।
त्यहाँ उनले लगातार लिग उपाधि जिते र सन् २०२४ मा रियाल मड्रिड पुगे। इङ्लिस टोली फुलह्यामको पनि असम्भव सपना इन्टोइन ग्रिजेमन बने। सन् २०१४ मा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको इङ्लिस प्रिमियर लिग क्लब फुलह्यामले स्पेनिस क्लब रियाल सोसिडाडका युवा फरवार्ड ग्रिजमनका लागि १२ मिलियन पाउन्डको प्रस्तावबारे छलफल गरेको थियो। तर, अन्तिममा फुलह्यामले त्यही रकम ग्रिक स्ट्राइकर कोस्टास मित्रोग्लुमा खर्चियो। मित्रोग्लुले प्रिमियर लिगमा मात्र तीन खेल खेले र गोल गर्न पनि सकेनन्। फुलह्याम रेलिगेसनमा प¥यो। ग्रिजमेन भने स्पेनमै रहे। एट्लेटिको मड्रिड र बार्सिलोनाबाट उत्कृष्ट करियर बनाउँदै उनले फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेले।

प्रतिक्रिया