नेकपा एमालेका नेता विष्णु रिजालले राज्यको कमजोर उपस्थिति र गुम्दो आत्मविश्वासले राष्ट्रिय सुरक्षामाथि गम्भीर असर पर्ने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै रिजालले वर्तमान अवस्था कुनै एक सरकार वा राजनीतिक दलको मात्र विषय नभई समग्र राष्ट्रसँग जोडिएको सवाल भएको उल्लेख गरेका छन्। उनले देश अत्यन्त संवेदनशील अवस्थामा पुगेको टिप्पणी गर्दै राज्यको स्थायित्व र विश्वसनीयतामाथि प्रश्न उठे विदेशी लगानी आकर्षित गर्न र आर्थिक विकासमा फड्को मार्न कठिन हुने उनको धारणा छ।

‘सवाल कुनै सरकार वा पार्टीको मात्र होइन। हाम्रो देश सलाईको काँटीमा उभिएको प्रतीत भइरहेको छ। चार घण्टामा राज्यविहीन हुने देशमा ठूलो विदेशी लगानी भित्रिएला, विश्व समुदायले विश्वास गर्ला र नेपालको आर्थिक विकासले फड्को मार्ला भन्ने कुरा अहिलेका लागि काल्पनिक मात्र हुन्छ,’ उनले लेखेका छन्।

रिजालले हालै मधेसमा देखिएको धार्मिक तनावको प्रसंग उल्लेख गर्दै केही व्यक्तिबाट सुरु भएको घटनालाई नियन्त्रणमा लिन राज्य संयन्त्रले निकै कठिनाइ भोग्नुपरेको उल्लेख गरेका छन्। उक्त घटनाले राज्यको क्षमता र प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ। रिजालले राज्यको आत्मविश्वास पुनःस्थापित गर्न नसकिए भविष्यमा कुनै पनि ठूलो संकट आउन सक्ने चेतावनी दिएका छन्।

‘दुई–चार जना हुल्लडबाजहरूले सुरु गरेको मधेसको धार्मिक आगो निभ्याउन सिंगो राज्य नै लाग्दा पनि हम्मेहम्मे भयो,’ रिजालले भने, ‘राज्य कति कमजोर भएछ भन्ने एउटा सबकका रूपमा यस घटनालाई लिनुपर्छ।’

रिजालले राज्यलाई थप सक्षम, प्रभावकारी र आत्मविश्वासी बनाउन सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्। ‘राज्यको गुमेको आत्मविश्वास फर्काउन सकिएन भने कुनै पनि दिन मुलुकमा कुनै पनि दुर्घटना हुँदा सबै मूकदर्शक हुनुपर्ने अवस्था छ,’ उनले भने।