बलिउडका चर्चित अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनौतबिचको पुरानो विवाद एक दशकपछि फेरि एकपटक चर्चामा आएको छ।
सामाजिक सञ्जालमा ‘सरी ऋतिक’ ट्रेन्ड भाइरल भएपछि कंगनाले ऋतिकमाथि कडा प्रहार गर्दै उनकी प्रेमिकाको नामसमेत जोडेर चेतावनी दिएकी छिन्। हालै कंगनाले विद्यार्थी आन्दोलन र जेनजीलाई लक्षित गरेर विवादित टिप्पणी गरेकी थिइन्, जसको कारण उनको विरोध गर्दै सामाजिक सञ्जालमा विभिन्न मिम्स र पुराना क्लिपहरूको बाढी नै आएको थियो।
सोही क्रममा केही प्रयोगकर्ताले सन् २०१६ को पुरानो कानुनी विवादलाई स्मरण गर्दै ऋतिक रोशनसँग सबैले माफी माग्नुपर्ने मागसहितको ‘सरी ऋतिक’ ट्रेन्ड चलाएका थिए। यसै विषयमा प्रतिक्रिया दिँदै अभिनेता ऋतिकले जनता भावनामा बग्नुको सट्टा तथ्य र सही सन्दर्भमा ध्यान दिनुपर्ने बताएका थिए। उनले सामाजिक सञ्जालमा स्पष्ट पारेका थिए, ‘कसैलाई मन नपरेको भरमा अर्को पक्षको समर्थन गर्नु हाम्रो समाजको ठूलो प्रणालीगत समस्याको सानो अंश हो। म सही सन्दर्भ र तथ्यको प्रतीक्षा गर्नेछु।’
ऋतिकको यही प्रतिक्रिया बाहिरिएपछि कंगना थप आक्रोशित भइन्। उनले इन्स्टाग्राममार्फत कडा जवाफ फर्काउँदै लेखिन्, ‘प्रिय ऋतिक, तिमीले आफ्नो साँचो पार्टनर फेला पारेकोमा म खुसी छु। सबा आजादसँग तिम्रो जोडी राम्रो देखिन्छ। तिमी गम्भीर सम्बन्धमा छौ, त्यसैले यसरी महिलाको मजाक उडाउने वा जिस्क्याउने काम तिमीलाई सुहाउँदैन।’
उनले थप लेखिन्, ‘बरु आफ्नो नाम लिएर मलाई दुर्व्यवहार गर्ने र धम्की दिनेहरूको निन्दा गर्नुपर्छ। आगोमा घिउ नथप र आफ्नो पार्टनरलाई पनि लज्जित नबनाऊ। आशा छ तिमीले बुद्धिमानीपूर्वक काम गर्नेछौ र यस्ता अनावश्यक टिप्पणी बन्द गर्नेछौ।’
सन् २०१६ मा कंगनाले ऋतिकलाई आफ्नो ‘सिली एक्स’ भनेपछि यी दुईबिच चर्को विवाद सुरु भएको थियो। त्यसबेला अभिनेताले उनीहरू कहिल्यै सम्बन्धमा नरहेको दाबी गर्दै कानुनी नोटिस पठाएका थिए भने यो प्रकरण प्रहरीसम्म पुगेको थियो। कंगना र ऋतिकबिचको कानुनी विवाद सन् २०१७ मा प्रहरीको साइबर क्राइम सेलले पर्याप्त प्रमाणको अभावमा मुद्दा बन्द गर्ने प्रतिवेदन पेस गरेसँगै औपचारिक अदालतको निर्णयबिना टुंगिएको थियो।

प्रतिक्रिया