जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ः०० बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो। स्थानीय प्रशासनले साउन १६ गते शनिबार बिहान १०ः०० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा जारी गरेको थियो।
प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फउन्मुख भएको जनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा उक्त निषेधाज्ञा हटाउने निर्णय गरिएको सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। प्रशासनको निर्णयसँगै जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ।


प्रतिक्रिया