ब्रिटिश युवराज विलियमले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनलाई विश्वकै महान् पर्वतारोहीमध्ये एक तथा अद्वितीय व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।
निर्मल पुर्जाको निधनप्रति दुःख व्यक्त गर्दै युवराज विलियमले सामाजिक सञ्जालमार्फत जारी गरेको शोक सन्देशमा उनको असाधारण साहस, विनम्रता र निस्वार्थ भावनाको प्रशंसा गरेका छन्।
उनले लेखेका छन्, “असम्भव देखिने लक्ष्यलाई पनि निरन्तर पछ्याउने दृढता, साथै उहाँको विनम्र र निस्वार्थ स्वभावले उहाँलाई साँच्चिकै अद्वितीय बनाएको थियो। उहाँको परिवारप्रति मेरो गहिरो समवेदना छ।”
यो शोक सन्देश ‘द प्रिन्स एन्ड प्रिन्सेस अफ वेल्स’को आधिकारिक एक्स (पूर्व ट्विटर) खातामार्फत सार्वजनिक गरिएको हो। सन्देशको अन्त्यमा युवराज विलियमको हस्ताक्षरका रूपमा ‘W’ उल्लेख गरिएको छ।
निर्मल पुर्जाले ब्रिटिश गोर्खा सैनिकका रूपमा १६ वर्ष सेवा गरेका थिए। त्यसमध्ये १० वर्ष उनले बेलायती सेनाको विशेष फौज (स्पेसल फोर्सेज) मा बिताएका थिए। सैन्य सेवाकै क्रममा उनी सगरमाथा आरोहण गर्ने पहिलो गोर्खा सैनिक बनेका थिए।
उच्च हिमाली आरोहणमा उल्लेखनीय योगदान पुर्याएका पुर्जालाई सन् २०१८ मा तत्कालीन बेलायती महारानीबाट Member of the Order of the British Empire (MBE) सम्मान प्रदान गरिएको थियो।

प्रतिक्रिया