नयाँ पूर्वेली दोहोरी गीत माया जालैमाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक बालकृष्ण कार्की र लोकदोहोरी गायिका गंगा गौतम आचार्यको स्वरमा रहेको उक्त गीत सार्वजनिक गरिएको हो । नेपाली लोक संस्कृति र पूर्वेली भाकासहित प्राकृतिक सौन्दर्यलाई एउटै सूत्रमा बाँधेर म्यूजिक भिडियो तयार गरिएको हो । म्यूजिक भिडियो सार्वजनिक गर्ने कार्की गुरु र गौतम चेली हुन् । कार्कीसँगै गौतमले गीत(संगीत सिकेकी हुन । म्यूजिक भिडियो बनाइएको गीत कार्की २०४६ सालमा रेडियो नेपालमा प्रतियोगिता हुँदा गाएका थिए । त्यतिबेला सो गीत दोस्रो भएको थियो । कार्की २०४५ सालमा जागिरको सिलसिलामा भोजपुर गएका थिए ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा शास्त्रीय सङ्गीत प्रशिक्षक कुशेश्वर राई, वरिष्ठ साहित्यकार मनु मञ्जिल तथा साहित्यकार एवम् प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेलले गीतमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । जसमा मनु मञ्जिलले म्यूजिक भिडियोमा हिरोइजमलाई सुन्दर ढंगले प्रस्तुत गरेको बताए । ‘करुणको प्रस्तुती पनि सुन्दर छ,’ उनले भने, ‘आधूनिक गीत जस्तो लाग्ने तर लोकगीतको पृष्ठभूमि छ ।’

प्राध्यापक डाक्टर पोखरेलले पूर्वेली लोकभाकाले नेपाली मौलिक कला, भाषा र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । शास्त्रीय सङ्गीतका प्रशिक्षक राईले यस्ता सिर्जनाले स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने विश्वास व्यक्त गरे।

गीतका शब्द बालकृष्ण कार्कीले रचना गरेका हुन् भने सङ्गीत संयोजन राम कार्कीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार मगरले गरेका हुन्। रेकर्डिङ इटहरीस्थित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो तथा काठमाडौंस्थित त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो । म्युजिक भिडियोको छायाङ्कन तथा सम्पादन सुमन योन्जनले गरेका छन् ।

गीतको छायाङ्कन धनकुटाको रमणीय डाँडाबजार र सुनाखरी होमस्टे क्षेत्रका प्राकृतिक स्थलहरूमा गरिएको जानकारी दिइयो । म्युजिक भिडियोमा अन्जु गौतम, तेजेन्द्र गन्धर्व, रुद्र श्रेष्ठ, ढुण्डिराज अधिकारी, बालकृष्ण सिग्देल, सन्तोष तिवारी तथा डाँडाबजारका स्थानीय कलाकार टंक याम्फुलगायतको अभिनय रहेको छ ।

गायक बालकृष्ण कार्कीले पूर्वेली लोकभाकाको मौलिक स्वाद नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले ‘माया जालैमा’ तयार गरिएको बताए । उनले गीत मनोरञ्जनमा मात्र सीमित नभई नेपाली लोकसंस्कृति, ग्रामीण जीवन, प्राकृतिक सम्पदा र पर्यटनको प्रवद्र्धन गर्ने अभियानसमेत भएको उल्लेख गरे ।