पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को रामनगरस्थित घर शोकमग्न बनेको छ।

चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा निम्स दाईको घर रहेको छ। सो घरमा पछिल्लो समय उनका माइलो दाईको परिवार बस्दै आएको छ। निम्स दाई हिमालमै अस्ताएको खबर आएपछि रामनगर घरमा उनको तस्बिरमा माल्यार्पण गर्नुका साथै दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। आफन्तहरू घरमा पुगेका छन्।

निम्स दाईको साहस र बाल्यकाल सम्झिँदै आफन्तहरू भावुक बनेका छन्। हिमाल चढ्दा सधैँ आफूलाई बताउने गरेको भाइले पाकिस्तान जाँदा केही खबर नगरेको भनी माइलो दाई जितबहादुर पुर्जा पुन भक्कानिए।

‘पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देऊ है दाइ भन्थ्यो। पाकिस्तान जाने बेलामा चाहिँ मलाई केही नभनी गयो’, यति भन्दै उनी भावुक भए।

निर्मलका चार दाजुभाई र एक बहिनी छन्। बहिनी अस्ट्रेलियामा छन्। निर्मलका बुबा पनि ब्रिटिस आर्मी थिए।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ दानामा जन्मिएका उनले चितवनको आँपटारीस्थित स्मल हेभन स्कुलमा कक्षा ३ देखि १० सम्म पढेका थिए। उक्त स्कुल अहिले कल्याणपुरमा सरेको छ।

कक्षा १० को टेस्ट परीक्षा दिएपछि उनी एसएलसी नदिईकन लाहुरे बन्न गएका थिए। ब्रिटिस आर्मीको जागिर छाडेका निम्स दाईले १४ वटा भीमकाय हिमालहरू चढेर विश्व कीर्तिमान बनाएका छन्। ४० वर्ष अघि उनको परिवार चितवन बसाई सरेर आएको थियो।

स्मल हेभन स्कुलमा २०५२ सालदेखि काम गर्दै आएका प्रशासकीय अधिकृत धर्मराज घिमिरेका अनुसार निर्मल पुर्जा २०५१ सालमा कक्षा ३ मा भर्ना भएका थिए। उनीसँगै बहिनी अनिता पनि सोही स्कुलमा भर्ना भएकी थिइन्। निर्मलले त्यहाँ कक्षा १० सम्म पढे।

‘खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा उनी अब्बल थिए। म निर्मलसँग अलि नजिक पनि थिए’, स्कुलको प्रशासनमा काम गर्ने कर्मचारी घिमिरेले भने, ‘अग्रजलाई असाध्यै सम्मान गर्ने मान्छे थियो। विश्व रेकर्ड बनाएपछि हामीले सम्मान पनि गरेका थियौँ।’

निर्मलको सम्मानमा रथयात्रा निकालिएको थियो। ‘दाई र बुबा ब्रिटिस आर्मीमा रहेकाले पनि होला १० कक्षा पढ्दा पढ्दै उनलाई पनि फौजी हुन मन लागेछ। टेस्ट परीक्षा दिएर एसएलसी नदिईकन उनी लाहुरे बन्न गए’, उनले विगत सम्झिँदै भने, ‘विद्यार्थी त धेरै हुन्छन् तर, निर्मल जस्तो विद्यार्थी पाउन गाह्रो हुन्छ।’

निर्मलको बारेमा बोल्दा बोल्दै उनी भावुक पनि भए। ‘यति छिट्टै हामीलाई छाडेर गए। धेरै दुःख लागेको छ’, भावुक हुँदै उनले भने, ‘सर तपाईँलाई केही प¥यो भने मलाई सम्झिनु है भनेर भन्थे।’

चितवन आएका बेला जहिल्यै निर्मलसँग उनको भेट हुन्थ्यो। आफ्नो बुबा बितेका बेला निर्मल रामनगर घर आएका थिए। निर्मलसँग अन्तिम पटक त्यही भेट भएको थियो घिमिरेको। विश्व कीर्तिमान बनाएपछि निर्मलले आफ्नो आमालाई हेलिकप्टरमा राखेर हिमालको बेसक्याम्प लगेका थिए।

निर्मल हिमपहिरोमा परेको खबर घिमिरेले समाचार पढेर थाहा पाएका थिए। ‘निर्मल असाधारण व्यक्ति हो। साहसी मान्छे हो। कुनै न कुनै उपाय अपनाएर हिमपहिरो छलेर बाँच्छन् भन्ने लागेको थियो। तर, हामी सबैलाई छाडेर उनी गए’, उनले भने।

‘निर्मल सैद्धान्तिक भन्दा पनि अतिरिक्त क्रियाकलापमा बढी अब्बल थिए’, उनलाई गणित विषय पढाएका शिक्षक केशव घिमिरे भन्छन्, ‘खेलकुदमा उनको रुचि धेरै थियो। निर्मललाई मैले कक्षा ५ देखि ९ सम्म गणित पढाएँ। उनी एकदमै साहसी व्यक्ति हुन्।’ उनले स्मल हेभनमा २०५२ सालदेखि २०६२ सालसम्म पढाएका थिए।