सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका हिंसात्मक घटनापछि उत्पन्न तनाव समाधानका लागि जनकपुरधाममा नेपाल सरकार र हिन्दुवादी संस्थाहरूबीच पुनः औपचारिक वार्ता सुरु भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषामा जारी वार्तामा गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी टोली र विभिन्न हिन्दुवादी संस्थाका प्रतिनिधिहरू सहभागी छन् ।
वार्ताका क्रममा हिन्दुवादी पक्षले सरकारसमक्ष १५ बुँदे मागपत्र प्रस्तुत गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न जोड दिएको छ।
मागपत्रमा घटनामा संलग्न व्यक्तिहरू र योजनाकारलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, छानबिन समितिको प्रतिवेदन तथा गोली चलाउन आदेश दिने व्यक्तिको विवरण सार्वजनिक गर्नुपर्ने, मृतकका परिवारलाई आर्थिक क्षतिपूर्ति, सरकारी रोजगारी, घाइतेहरूको निःशुल्क उपचार तथा मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग समावेश गरिएको छ।
हिन्दुवादीहरूले गृहमन्त्री सुदन गुरुङ समक्ष राखेका १५ बुँदे मागहरु यस्ता छन् ।
१) घटनामा संलग्न सम्पूर्ण दोषी तथा घटनाका योजनाकारहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गरियोस्।
२) घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदन, गोली चलाउन आदेश दिने व्यक्तिहरू तथा घटनाका योजनाकारहरूको नाम, विवरण र पृष्ठभूमिसहितका सम्पूर्ण सत्यतथ्य सार्वजनिक गरियोस् ।
३) मृतकका परिवारलाई आवश्यक आर्थिक क्षतिपूर्ति उपलब्ध गराइयोस्, मृतकका परिवारबाट एक जनालाई तथा आन्दोलनमा घाइते भएका सबैलाई सरकारी जागिर दिइयोस्, घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गरियोस् र मृतकलाई शहीद घोषणा गरियोस्।
४) घटनामा प्रशासनिक लापरबाही तथा सुरक्षा कमजोरी देखिएकाले सम्बन्धित जिम्मेवार अधिकारीहरूमाथि कडा कारबाही गरियोस्।
५) नेपालका सबै मस्जिद, मदरसा तथा मठ–मन्दिरको उच्चस्तरीय जाँच तथा निगरानी गरियोस्। साथै देशभित्र तथा विदेशबाट हुने सम्पूर्ण सञ्जाल (नेटवर्क) र आर्थिक स्रोत (फन्डिङ) को समेत छानबिन गरियोस्।
६) घटना हुनुभन्दा केही समयअघिदेखि गोलीकाण्ड समाप्त भएको एक घण्टासम्म विद्युत् आपूर्ति किन अवरुद्ध गरियो भन्ने विषयमा छानबिन गरी सम्बन्धित विद्युत् कार्यालय प्रमुखमाथि आवश्यक अनुसन्धान तथा कारबाही गरियोस्।
७) नेपाल युगौँदेखि सनातन हिन्दु भूमि भएकाले बौद्ध र किरात परम्परासहितको ‘वैदिक सनातन हिन्दु राष्ट्र’ पुनःस्थापनाका लागि संसद्मा प्रस्ताव पेस गरियोस्।
८) मुस्लिम आयोग खारेज गरियोस्। मदरसा तथा अन्य धार्मिक विद्यालयहरूको उचित छानबिन गरी अवैध ठहर भएका संस्थालाई पूर्ण रूपमा प्रतिबन्ध लगाइयोस्। साथै देशभरका मस्जिदबाट स्थायी रूपमा लाउडस्पीकर हटाइयोस्।
९) रोहिंग्या, बंगलादेशी तथा पाकिस्तानी घुसपैठियाहरूको पहिचान गरी सबैलाई देश निकाला गरियोस् तथा घुसपैठ रोक्न सीमा सुरक्षालाई कडा बनाइयोस्।
१०) मुस्लिम र हिन्दु समुदायका तीन पुस्तासम्म तथा वि.सं. २०४६ सालदेखि यता वितरण भएका सबै नागरिकताको छानबिन गरियोस्।
११) गृह मन्त्रालयअन्तर्गत रहेको हज यात्रा समितिको कार्यालय हटाइयोस् तथा हज यात्रा समिति खारेज गरियोस्।
१२) राष्ट्रिय सुरक्षाको विषय भएकाले प्रधानमन्त्रीका सल्लाहकार तथा संविधान संशोधन संयोजक मो. आसिम शाहलाई तत्काल पदमुक्त गरियोस्।
१३) चाडपर्व तथा धार्मिक अवसरमा हातहतियार प्रदर्शन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरियोस्।
१४) सुनसरीको देवानगञ्ज घटनापछि भएको आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूमाथि दर्ता भएका मुद्दाहरूको पुनरावलोकन गरी आवश्यक निर्णय लिइयोस् तथा सम्बन्धित व्यक्तिहरूलाई कानुनी प्रक्रियाअनुसार तत्काल रिहा गरियोस्।
१५) सामाजिक सञ्जालमार्फत हिंसा, द्वेष वा अतिवादी विचार फैलाउने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गरियोस्।

प्रतिक्रिया