पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार क्याम्प-२ बाट क्याम्प-३ तर्फ (करिब ६ हजार ६०० मिटरको उचाइमा) उक्लने क्रममा गएको भीषण हिमपहिरोमा परी तीन जना पर्वतारोहीको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ।
गिल्गट-बाल्टिस्तानका कमिसनर कार्यालयद्वारा जारी आधिकारिक प्रेस विज्ञप्ति र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अत्यधिक उचाइ र तीव्र वेगमा आएको उक्त हिमपहिरोले १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीलाई करिब एक हजार मिटर तल बगाएको थियो। सुरुवाती चरणमा सञ्चार समन्वयको कमीका कारण हताहतीको संख्याबारे केही अन्योल सिर्जना भए पनि, पछिल्लो सरकारी दस्ताबेजले हालसम्म चार जना मृत फेला परेको पुष्टि गरेको छ। मृतक मध्ये तीन जनाको पहिचान समेत भइसकेको छ। पहिचान खुलेका तीन जनालाई पाकिस्तानी सेनाको हेलिकप्टरमार्फत सैनिक अस्पतालमा पठाइएको छ।
आधार शिविरबाट पैदल मार्ग हुँदै क्याम्प-२ तर्फ अघि बढेको उद्धार टोलीले आरोहण क्षेत्रबाट संकलन गरेका शवहरूमध्ये आधिकारिक रूपमा पहिचान खुलेका मृतकमा ओमानकी आरोही नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका अनुभवी पर्वतारोहण गाइड पुरबहादुर गुरुङ (युक्त) र अमेरिकी महिला आरोही म्यालोरी गीस रहेका छन्। फेला परेका मृतकको कानुनी प्रक्रिया र व्यवस्थापनका लागि पाकिस्तान सरकारले आवश्यक कदम चालिरहेको जनाएको छ।

यस १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीका बाँकी सदस्यहरू अझै पनि हिउँमा बेपत्ता छन्, जसमा एलाइट एक्सपेड अभियानका नेता एवं विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ पनि रहेका छन्। भू-उपग्रह ट्र्याकिङ उपकरणको रेकर्डअनुसार हिमपहिरो गएको समयमा उनको उपकरण ६ हजार ६५९ मिटरबाट सिधै तल झरेको र त्यसपछि केही प्राविधिक संकेत देखाएकाले उनी जीवितै हुन सक्ने एउटा झिनो आशा पर्वतारोहण वृत्तमा कायमै छ।
पुर्जासँगै बेपत्ता हुने अन्य सदस्यमा चीनका वाङ झोङ, पाकिस्तानका स्थानीय गाइड सोहेल साखी र नेपालका चार जना सहयोगी किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा तथा ग्यालु शेर्पा रहेका छन्। निर्मल पुर्जा यसपटक पूरक अक्सिजन बिना विश्वका सबै १४ वटा हिमाल दुई पटक चढ्ने ऐतिहासिक कीर्तिमानको दौडमा काराकोरम क्षेत्र पुगेका थिए।
प्रख्यात पाकिस्तानी पर्वतारोही सिरबाज खानको नेतृत्वमा खटिएको नागरिक उद्धार टोलीले उच्च हिमाली क्षेत्रमा उडान गरेका ड्रोन फुटेजमार्फत हिउँको सतहमा अन्य केही आरोहीको शव समेत फेला पारेको जानकारी दिएको छ। तर मौसमको प्रतिकूलताका कारण तिनको पहिचान खुलाउन र शव संकलन गर्न सकिएको छैन।
गिल्गट-बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसैन आजर र स्थानीय प्रशासनका अनुसार शुक्रबार साँझ खराब मौसम र न्यून दृष्टिका कारण हवाई र स्थलगत उद्धार कार्य शुक्रबारका लागि स्थगित गरिएको छ। आधार शिविरमा सुरक्षित रहेको उद्धार टोलीले मौसम सुधार हुनासाथ शनिबार बिहानैदेखि पाकिस्तानी सेनाको एभिएसन हेलिकप्टर, थप उद्धारकर्ता शेर्पा र विशेष उपकरणसहित खोजी अभियानलाई पुनः तीव्र पार्ने बताएका छन्।

प्रतिक्रिया