महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) पछिल्लो समय गुणस्तरीय सेवा र बिरामी सुरक्षाको क्षेत्रमा उल्लेखनीय सुधार गर्दै नमुना सरकारी अस्पतालका रूपमा स्थापित हुने दिशामा अघि बढेको छ। अस्पतालले केही वर्षदेखि अनौपचारिक रूपमा सुरु गरेको ‘गुणस्तर सुधार तथा बिरामी सुरक्षा’ कार्यक्रमलाई गत वर्ष साउन १५ गतेदेखि औपचारिक रूपमा संस्थागत गरेपछि सेवामा देखिने गरी परिवर्तन आएको अस्पतालले जनाएको छ।
अस्पतालले ‘गुणस्तर सुधार तथा बिरामी सुरक्षा इकाइ’ गठन गरेर उपचार सेवा, प्रशासनिक व्यवस्थापन तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै कार्ययोजना अघि बढाएको हो। अस्पतालका अनुसार हालसम्म सुधारका निर्धारित सूचकहरूमध्ये ६२ प्रतिशत उपलब्धि हासिल भइसकेको छ भने निकट भविष्यमा यसलाई ८५ प्रतिशतसम्म पुर्याउने लक्ष्य राखिएको छ।
एक वर्ष पूरा भएको अवसरमा आयोजित समीक्षा कार्यक्रममा गुणस्तर सुधार तथा बिरामी सुरक्षा कार्यक्रमका संयोजक डा. पवनकुमार चालिसेले यस अवधिमा सेवा तथा गुणस्तरसँग सम्बन्धित ४६२ वटा गुनासा प्राप्त भएको र ती गुनासाको कारण विश्लेषण गरी सुधारका ठोस कदम चालिएको जानकारी दिए।
उनका अनुसार अस्पतालको गुणस्तर सुधार मापदण्डअन्तर्गत ६० प्रतिशत उपचार सेवा, २० प्रतिशत प्रशासनिक सुधार र २० प्रतिशत इन्जिनियरिङ तथा सहायक सेवासँग सम्बन्धित सूचक समावेश छन्। यी तीनै क्षेत्रमा उल्लेखनीय सुधार गरिएको उनले बताए।
डिजिटल सेवादेखि क्यान्टिन र शौचालय व्यवस्थापनसम्म सुधार
अस्पतालले सेवा प्रवाहलाई सहज बनाउन विभिन्न डिजिटल प्रणाली लागू गरेको छ। भर्ना भएका बिरामीले क्यूआर कोड स्क्यान गरी औषधि सिधै आफ्नो शय्यासम्म प्राप्त गर्ने व्यवस्था सुरु गरिएको छ। त्यसैगरी, बिल स्क्यान गरेर बिरामीले आफ्नै रिपोर्ट प्रिन्ट गर्न सक्ने सुविधा, रगतको नमुना संकलन केन्द्रमा बिल भुक्तानीसँगै बिरामीको विवरण स्वतः उपलब्ध हुने डिजिटल प्रणाली, ओपिडी सेवा व्यवस्थापन, क्यास काउन्टर र फार्मेसी विस्तारजस्ता सुधारका काम सम्पन्न भएका छन्।
यसका साथै अस्पतालका विभिन्न भवनमा क्यान्टिन विस्तार, क्यान्टिन सेवाको स्तरोन्नति, शौचालय सरसफाइ र अन्य आधारभूत सुविधामा समेत सुधार गरिएको अस्पतालले जनाएको छ।
अब सम्पूर्ण मेडिकल रेकर्ड डिजिटल प्रणालीमा
अस्पतालले आगामी चरणमा सम्पूर्ण बिरामीको मेडिकल रेकर्डलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी गरेको छ। ओपिडी टिकट लिएपछि समय निर्धारण गरेर सेवा लिन सकिने प्रणाली लागू गर्ने, टिकट व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने, खानेपानी र शौचालयको थप सुधार गर्ने तथा कुरुवाका लागि पर्याप्त बस्ने व्यवस्था गर्ने योजना पनि अघि बढाइएको डा. चालिसेले जानकारी दिए।
भौतिक संरचना मुख्य चुनौती
सुधारका प्रयासका बाबजुद अस्पतालको पुरानो भौतिक संरचनाले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापदण्ड पूर्ण रूपमा लागू गर्न चुनौती सिर्जना गरेको अस्पतालको भनाइ छ।
डा. चालिसेका अनुसार शौचालय विस्तार, आकस्मिक कक्षबाट समयमै बिरामी भर्ना गर्न सक्ने क्षमता, तथा आईसीयू र हाई डिपेन्डेन्सी युनिटबाहेक अन्य वार्डमा बिरामीको अनुपातअनुसार चिकित्सक र नर्स व्यवस्थापन गर्न नसक्नु गुणस्तरीय सेवा विस्तारका प्रमुख अवरोध हुन्।
बल्खुमा अत्याधुनिक अस्पताल बनाउने प्रस्ताव
अन्तर्राष्ट्रिय स्तरको विशिष्टीकृत सेवा विस्तारका लागि सरकारले टिचिङ अस्पताललाई जनरल अस्पतालको रूपमा सञ्चालन गर्दै बल्खुस्थित करिब २५० रोपनी जग्गामा अत्याधुनिक भवन निर्माण गर्नुपर्ने प्रस्ताव सरकारसमक्ष राखिएको डा. चालिसेले बताए।
उनले नयाँ पूर्वाधार निर्माण भए कलेजो तथा मिर्गौला प्रत्यारोपण, मुटुरोग उपचारलगायत विशिष्टीकृत सेवा थप प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने र त्यसपछि मात्रै पूर्ण गुणस्तरीय सेवा तथा बिरामी सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सम्भव हुने बताए।
‘अब पहुँच मात्र होइन, गुणस्तरको पनि मूल्याङ्कन हुनुपर्छ’
कार्यक्रममा टिचिङ अस्पतालका निर्देशक डा. सुवासराज आचार्यले विगत पाँच दशकसम्म सरकारी अस्पतालमा उपचारको पहुँच विस्तारलाई प्राथमिकता दिइएको भए पनि अब सेवा गुणस्तर र बिरामी सुरक्षालाई केन्द्रमा राख्नुपर्ने समय आएको बताए।
उनले सरकारी अस्पताललाई नमुना संस्थाका रूपमा विकास गर्ने उद्देश्यले गुणस्तर सुधार कार्यक्रम अघि बढाइएको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाइने बताए।
‘मेडिकल टुरिजमको केन्द्र बन्न सक्छ टिचिङ’
त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा प्रतिष्ठानका डिन डा. मोहनराज शर्माले गुणस्तरीय सेवा र बिरामी सुरक्षाको सुनिश्चिततासँगै टिचिङ अस्पताल दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्थामध्ये एक बन्न सक्ने बताए।
उनका अनुसार बिरामी सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सके नेपालमा मेडिकल टुरिजम प्रवर्द्धन गर्ने ठूलो सम्भावना रहेको छ।
त्यसैगरी, चिकित्सा शिक्षा क्याम्पसका प्रमुख डा. सुरेन्द्र उप्रेतीले गुणस्तरीय उपचार र बिरामी सुरक्षाले उपचारको लागतसमेत घटाउने बताए।
उनले भने, “गुणस्तर प्रवर्द्धन र बिरामी सुरक्षाको मूल सिद्धान्त भनेको सही बिरामीलाई सही समयमा सही सेवा उपलब्ध गराउनु हो। यसले सेवाग्राही र सेवाप्रदायक दुवैलाई सन्तुष्टि प्रदान गर्छ।”

प्रतिक्रिया