पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको घातक हिमपहिरोमा परेर ज्यान गुमाएका दुई पर्वतारोहीको शव स्कार्दु ल्याइएको छ।
एक नेपाली र एक ओमानी पर्वतारोहीको शव पाकिस्तानी सेनाको हेलिकप्टरमार्फत स्कार्दु पुर्याइएपछि शनिबारसम्मका लागि उद्धार अभियान स्थगित गरिएको छ। ओमानकी प्रसिद्ध पर्वतारोही नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (‘युक्त’) को शव स्कार्दु ल्याइएको हो।
प्रहरीका अनुसार विश्वचर्चित कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (‘निम्स दाई’) को नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीमध्ये चार जनाको शव फेला पारिएको छ भने बाँकी ६ जना अझै बेपत्ता छन्।
यो पनि पढ्नुहोस्
ब्रोड पिक हिमपहिरो : युक्त र नाधिराको शव स्कर्दु ल्याइँदै, निर्मल पुर्जासहित ६ को खोजी जारी
गिलगिट-बाल्टिस्तान प्रहरीले दिएको जानकारीअनुसार हिमालबाट दुईवटा शव सफलतापूर्वक बाहिर निकालिएपछि आजको उद्धार कार्य रोकिएको हो। मौसम अनुकूल भएमा र सञ्चालन अवस्था सहज रहेमा बाँकी शवहरू निकाल्ने र आधार शिविरमा ल्याउने काम भोलि बिहानैदेखि फेरि सुरु हुनेछ।
पाकिस्तानी सेनाका हेलिकप्टर, उच्च(उचाइमा हिंड्ने भरिया र उद्धारकर्मीहरूले काराकोरम हिमालको जटिल र कठिन भूभागमा खटिएर बाँकी पीडितहरूको खोजी गरिरहेका छन्। अधिकारीहरूले उद्धार मिसन अगाडि बढ्दै जाँदा थप विवरणहरू सार्वजनिक गर्ने बताएका छन्।

प्रतिक्रिया