सद्भाव र शान्तिको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार शान्ति पाठ तथा प्रार्थना गरिएको छ। सुनसरीमा भएको घटना पछि मुलुकमा उत्पन्न तनाव र अशान्तिको अन्त्यको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठ तथा प्रार्थना गरिएको हो।
लुम्बिनी विकास कोषको आयोजनामा मायादेवी मन्दिर परिसरमा आज शान्ति पाठ गर्दै धार्मिक सहिष्णुता, सद्भाव, आपसी भाइचारा र दिगो शान्तिको कामना गरिएको छ।
बौद्ध भिक्षु-भिक्षुणीहरूले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी भएकाले सबै समुदायबीच सदभाव, एकता, सहिष्णुता, पारस्परिक सम्मान कायम राख्दै शान्ति र भातृत्वको लागि सबैमा आग्रह गरेका छन्।
मुलुकमा पछिल्लो समय भएको द्वन्द्वका कारण ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै थेरवाद र महायानी परम्पराका भिक्षु-भिक्षुणीहरूले पवित्रपाठ र शान्ति प्रार्थना गरेका थिए।
भिक्षु सागर धम्मले देशको कठिन अवस्थालाई थप जटिल बन्न नदिन समुदायमा एकता र आपसी सद्भावको आवश्यकता पर्ने भएकाले लुम्बिनीबाट सबैमा अपिल गरिएको बताए।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव हिमाल उप्रेतीले द्वन्द्व र हिंसाबाट कुनैपनि समस्याको समाधान ननिस्कने भएकाले संवाद, सहमति र समझदारीबाट अगाडी बढनु पर्ने जानकारी दिए।
मुलुकमा देखिएको वर्तमान स्थितिको निकासका लागि बुद्धका शिक्षा उत्तिकै सान्दर्भिक भएको भन्दै उनले लुम्बिनीबाट देशबासी सबैलाई शान्ति र सद्भावका लागि अपिल गरिएको उनको भनाइ छ।

प्रतिक्रिया