साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट नौ, सिरहाबाट पाँच, महोत्तरीबाट दुई र पर्साबाट एक जना पक्राउ परेका छन्।

यसैबिच, प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले बताएको छ।

उता, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी व्यवस्था कायम राख्न अभिभावकहरूसँग आग्रह गरेको छ।

प्रहरी कार्यालयले आज अपिल जारी गर्दै सडक प्रदर्शन, जुलुस तथा भीडमा बालबालिकाको संलग्नता बढ्दै गएको उल्लेख गर्दै यसप्रति सबै अभिभावक सचेत हुनुपर्ने बताएको छ। अपिलमा अभिभावकलाई आफ्ना बालबालिकालाई उत्तेजनात्मक, हिंसात्मक तथा कानुनविपरीत गतिविधिमा सहभागी हुन नदिन, अत्यावश्यक कामबाहेक घरबाहिर नपठाउन तथा उनीहरूको गतिविधिमा निगरानी राख्न अनुरोध गरेको छ।

साथै सामाजिक सञ्जालमा फैलिने भ्रामक र भड्काउ सूचनाबाट सचेत रहन पनि आग्रह गर्दै अपिलमा बालबालिकाको सुरक्षा, शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा कानुनको पालनामा सहयोग पुर्‍याउन सम्पूर्ण अभिभावक, जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा समुदायका सदस्यहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालद्वारा जारी अपिलमा सामाजिक एकता र शान्ति कायम राख्न सबै पक्षको सहकार्य आवश्यक पर्ने बताएको छ।