आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको ओडीआई शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

शुक्रबार साँझ नेपाली क्रिकेट टोली काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टोलीका कप्तान रोहित पौडेलले टोलीले लक्ष्यअनुसारको प्रदर्शन गर्न नसकेको स्वीकार गर्दै त्यसप्रति आफूहरू निराश रहेको बताए ।

उनले नेदरल्यान्ड्स भ्रमणमा सोचेअनुसारको नतिजा आउन नसकेको उल्लेख गर्दै अब आगामी प्रतियोगितामा ध्यान केन्द्रित गरिने बताए । उनका अनुसार टोलीको बलिङ सन्तोषजनक रहे पनि ब्याटिङ र फिल्डिङ अपेक्षाअनुसार हुन सकेन ।

‘हामीले ब्याटिङमा आवश्यक आक्रामकता देखाउन सकेनौँ। फिल्डिङ पनि हाम्रो स्तरअनुसार भएन । महत्वपूर्ण क्याच छुटाउँदा त्यसको प्रत्यक्ष असर खेलको नतिजामा पर्यो,’ कप्तान पौडेलले भने ।

उनले चारवटै खेलमा ब्याटिङ र फिल्डिङ कमजोर रहँदा अंक तालिकामा पनि असर परेको बताए । दुई खेल जित्न सकेको भए नेपाल पाँचौँ स्थानमा पुग्ने सम्भावना रहेको उल्लेख गर्दै अहिले टोली छैटौँ स्थानमा रहेको जानकारी दिए ।

कप्तान पौडेलले अब ओमानमा हुने अन्तिम शृङ्खलामा राम्रो प्रदर्शन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु नै टोलीको प्रमुख लक्ष्य रहेको बताए ।

उनले युरोपेली परिस्थितिअनुसार खेल्न नसक्नु पनि कमजोर प्रदर्शनको एउटा कारण भएको स्वीकार गरे । नेपालको घरेलु विकेट र नेदरल्यान्ड्सको विकेटबीच ठूलो अन्तर रहेकाले त्यसअनुसार आफूहरू अनुकूल हुन नसकेको उनको भनाइ थियो ।

प्रतिद्वन्द्वी टोलीहरूले लगातार छोटो लम्बाइका बल (सर्ट बल) प्रयोग गरेर दबाब सिर्जना गरेको उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसक्दा ब्याटिङ प्रभावित भएको बताए । खेलका निर्णायक क्षणहरू सदुपयोग गर्न नसक्नु पनि हारको अर्को कारण रहेको उनको विश्लेषण थियो ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा हरेक चुनौती स्वीकार गर्नुपर्ने उल्लेख गर्दै मानसिक रूपमा अझ बलियो बनेर कमजोरी सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।