स्पेनको नियन्त्रणमा रहेको उत्तर अफ्रिकी सहर सेउटामा पछिल्ला केही दिनमा आप्रवासीहरूको अत्यधिक भीड भित्रिएपछि स्पेन र मोरक्कोले सीमा सुरक्षामा व्यापक कडाइ गरेका छन्।
सेउटाका राष्ट्रपतिले पछिल्ला दिनमा करिब ६० हजार मानिस प्रवेश गरेको अनुमान गरेका छन् भने स्पेनको आन्तरिक मन्त्रालयले बिहीबारदेखि करिब ५० हजार आप्रवासीले सीमा पार गरेको जनाएको छ। मन्त्रालयका अनुसार तीमध्ये २५ हजार जना शुक्रबार स्वेच्छाले मोरक्को फर्किसकेका छन्।
यस आप्रवासी संकटका कारण भएको भागदौड र डुबेर कम्तीमा ४१ जनाको मृत्यु भएको छ।
सेउटाका राष्ट्रपति जुआन जेसस भिभासले पत्रकारहरूसँग कुरा गर्दै ‘सेउटा जुन अवस्थाबाट गुज्रिरहेको छ त्यो पूर्ण रूपमा अस्थिर छ’ भनेका छन्।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सेउटाको आकस्मिक भ्रमण गर्दै अवस्था ‘अपेक्षित नरहेको’ उल्लेख गर्दै सीमा उल्लंघनलाई ‘स्पेनको क्षेत्रीय अखण्डताको उल्लंघन’ भन्दै आलोचना गरेका छन्। सान्चेजले मानव तस्करहरूलाई यस संकटको मुख्य दोषी ठहराए। उनले भने, ‘तस्करहरूले धेरै युवाहरूलाई धोका दिन्छन्, र अन्ततः उनीहरूमध्ये धेरैलाई मृत्युको मुखमा पुर्याउँछन्- चाहे त्यो समुद्रमा होस् वा यस अवस्थामा जस्तै, स्पेनको सिमानामा रहेको स्वायत्त सहर सेउटामा।’
स्पेन सरकारले आफ्नो सीमा क्षेत्रमा सेना तैनाथ गरेको छ। सिमानामा तीव्र रूपमा बढेको सुरक्षा संकटलाई ध्यानमा राख्दै सेउटाका स्थानीय अधिकारीहरूले ‘राष्ट्रिय सुरक्षा’ को आधारमा आपतकाल घोषणा गर्न तथा सीमामा थप सुरक्षाकर्मी र सेना परिचालन गर्न केन्द्र सरकारसँग माग गरेका थिए। सोही मागको आधारमा स्पेनको केन्द्र सरकारले त्यहाँ खटिएका ‘सिभिल गार्ड’ लाई सहयोग पुर्याउन सेना पठाउने घोषणा गरेको हो।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले यस घटनालाई ‘अस्वीकार्य’ भन्दै युरोपेली संघ (इयु) ले मोरक्कोसँग छलफल गरिरहेको बताइन्। उनले थपिन्, ‘हामी हाम्रा नियमहरूको पालना नगरी कसैलाई पनि हाम्रो संघमा आउन अनुमति दिन सक्दैनौं। खतरनाक क्रसिङहरू तुरुन्तै बन्द हुनुपर्छ र तस्करी नेटवर्कहरू भत्काउनुपर्छ।’
स्थानीय कामदार संघका प्रतिनिधि रचिद स्बिहीले अवस्थालाई ‘गम्भीर मानवीय संकट’ र ‘अराजक’ रूपमा वर्णन गरे। उनका अनुसार हजारौं आप्रवासीहरू पार्क, फुटपाथ र सडकहरूमा सुतिरहेका छन्। मरेका ४१ जनामध्ये केही डुबेर मरेका थिए भने केहीको मृत्यु सहरी समुद्र तटको बार पार गर्ने क्रममा भएको भागदौडमा भएको थियो।
यसैबिच, स्पेनको सर्वोच्च अदालतले हालै गरेको एक निर्णयका कारण आप्रवासीको यो संख्या अचानक बढेको अधिकारीहरूको ठहर छ। अदालतले समुद्री बाटो भएर आउने आप्रवासीलाई जमिनबाट आउनेहरूको जस्तो सजिलै देश निकाला गर्न नपाइने फैसला सुनाएको थियो। प्रधानमन्त्री सान्चेजले मानव बेचबिखनका गिरोहले यही फैसलाको गलत अर्थ लगाएर आप्रवासीहरूलाई उक्साएको बताए।
उत्तर अफ्रिकामा रहेका सेउटा र मेलिला सहरहरू युरोपेली संघको अफ्रिका महादेशसँग जोडिएको एकमात्र जमिन सीमा हुन्। अचानक भएको यो आप्रवासीको प्रवेशले सिंगो युरोपमा तरंग पैदा गरेको छ। यसैबिच, इटालीले स्पेनलाई युरोपेली संघको खुला सीमा (शेन्जेन) योजनाबाट निलम्बन गर्ने चेतावनी दिएको छ भने फ्रान्सले पनि सीमा जाँचमा कडाइ गर्ने घोषणा गरेको छ। एजेन्सी

प्रतिक्रिया