सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जबाट सुरु भएको हिंसात्मक घटनाले तराई–मधेसका विभिन्न जिल्लामा तनाव फैलाएपछि सरकार अहिले ‘सुरक्षा, संवाद र समन्वय’लाई समानान्तर रूपमा अघि बढाउँदै द्वन्द्व न्यूनीकरणको प्रयासमा जुटेको छ। गृहमन्त्री सुधन गुरुङ स्वयं प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग संवाद गरिरहेका छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखेका छन्।
सरकारले बल प्रयोगभन्दा संवादलाई प्राथमिकता दिँदै स्थानीय समुदाय, राजनीतिक दल, धार्मिक अगुवा र सुरक्षा निकायबीच समन्वय बढाएकाले बिहीबारको तुलनामा शुक्रबार तराई–मधेसको अवस्था तुलनात्मक रूपमा शान्त देखिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।
गृहमन्त्री सुधन गुरुङ बिहीबार नै सुनसरी पुगेका थिए। उनले देवानगञ्ज घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेटवार्ता गरी सहमति जुटाउनुका साथै घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। त्यसपछि उनी थप समन्वयका लागि सिरहा पुगेका छन्।
स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायका प्रतिनिधिबीच विश्वासको वातावरण निर्माण गरी तनाव नियन्त्रणमा ल्याउने प्रयासमा गृहमन्त्री निरन्तर सक्रिय रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।
तराई–मधेस केन्द्रित उच्च प्रहरी परिचालन
तनाव थप फैलिन नदिन नेपाल प्रहरीले देशभरका अनुभवी उच्च प्रहरी अधिकृतलाई तराई–मधेसमा परिचालन गरेको छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार १५ जना एआईजी, डीआईजी र एसएसपी तहका अधिकृतलाई मोरङ, सुनसरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, पर्सा, बारा, रौतहटलगायत जिल्लामा खटाइएको छ।
उनीहरूलाई स्रोत–साधन परिचालन, सुरक्षा अवस्थाको मूल्याङ्कन, सूचना सङ्कलन तथा विश्लेषण, सुरक्षा रणनीति कार्यान्वयन र प्रदेश तथा जिल्ला प्रहरी कार्यालयसँग प्रत्यक्ष समन्वय गर्दै फिल्डमै रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी र नेपाली सेना पनि उच्च सतर्कतामा
नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलले पनि अतिरिक्त सुरक्षा टोली तराई–मधेसमा परिचालन गरेको छ। एआईजी गणेश ठाडा मगरको नेतृत्वमा थप सुरक्षा संयन्त्र परिचालन गरिएको छ भने छिमेकी पहाडी जिल्लाबाट समेत अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाल–भारत सीमामा निगरानी बढाइएको छ भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग आवश्यक समन्वय पनि भइरहेको बताइएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले सामाजिक सद्भाव बिगार्ने, धार्मिक सहिष्णुता भंग गर्ने तथा हिंसात्मक र उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन सबैसँग आग्रह गरेका छन्। शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सशस्त्र प्रहरी समन्वयात्मक ढंगले परिचालित रहेको उनको भनाइ छ।
यस्तै, कर्फ्यु लागू गरिएका संवेदनशील क्षेत्रमा नेपाली सेनाले पनि सुरक्षा व्यवस्थामा सहयोग गरिरहेको छ।
प्रधानमन्त्री पनि सक्रिय कूटनीतिक र राजनीतिक संवादमा
घटनापछि प्रारम्भिक केही दिन सार्वजनिक रूपमा मौन देखिएका प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्ला दिनमा राजनीतिक र कूटनीतिक सक्रियता बढाएका छन्।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर सुरक्षा अवस्थाको समीक्षा गरेका प्रधानमन्त्रीले त्यसपछि राष्ट्रका नाममा सम्बोधन गरे। उनले राष्ट्रपति रामचन्द्र पोखरेलसँग भेटवार्ता, उपराष्ट्रपतिसँग टेलिफोन संवाद तथा तराई–मधेसका सांसदहरूसँग छलफल गर्दै समाधानका लागि राजनीतिक सहमति निर्माणमा जोड दिएका छन्।
यसैबीच विभिन्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र विद्यार्थी संगठनले पनि शान्ति, सद्भाव र संवादलाई केन्द्रमा राखेर पहल अघि बढाएका छन्। काठमाडौंको माइतीघरमा नागरिकहरूले सद्भाव र एकताको र्यालीसमेत आयोजना गरेका थिए।
तनाव मत्थर हुँदै, शुक्रबार गोली र आगजनी भएन
सुरक्षा निकायका अनुसार बिहीबारको तुलनामा शुक्रबार तराई–मधेसको समग्र अवस्था उल्लेखनीय रूपमा शान्त बनेको छ।
शुक्रबार बिहानैदेखि सुरक्षा व्यवस्था थप मजबुत बनाइनुका साथै वार्ता, छलफल र समुदायस्तरीय संवादलाई तीव्रता दिइएको थियो। त्यसको सकारात्मक प्रभाव देखिएको भन्दै नेपाल प्रहरीले शुक्रबार कुनै पनि जिल्लामा गोली नचलेको र आगजनी तथा तोडफोडका नयाँ घटना नभएको जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी शेखर खनालका अनुसार सुनसरीसहित कोशी प्रदेशका प्रभावित क्षेत्र क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन्।
उनले भने, ‘हिजोको तुलनामा आज अवस्था निकै शान्त छ। सामाजिक सद्भाव कायम राख्न आवश्यक सबै प्रयास गरिरहेका छौं। प्रहरीले अत्यन्त संयमता अपनाएर काम गरिरहेको छ।’
सामाजिक सद्भाव बिथोल्ने ३६ जना पक्राउ
तनाव फैलाउन सामाजिक सञ्जाल र अन्य माध्यम प्रयोग गरेको आरोपमा नेपाल प्रहरीले मधेसका पाँच जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९, सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ र पर्साबाट १ जना पक्राउ परेका छन्।
प्रहरीले सामाजिक सद्भाव खलल पुर्याउने, साम्प्रदायिक द्वेष फैलाउने तथा हिंसात्मक गतिविधि उक्साउने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट गर्दै नागरिकलाई अफवाह र भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गरेको छ।
सुरक्षा निकायको व्यापक परिचालन, राजनीतिक तहको सक्रिय संवाद, स्थानीय प्रशासनको समन्वय र समुदायस्तरको पहलका कारण पछिल्लो २४ घण्टामा तनाव उल्लेखनीय रूपमा घटेको देखिएको छ। यद्यपि प्रभावित जिल्लाहरूमा सुरक्षा सतर्कता भने यथावत् राखिएको छ।

प्रतिक्रिया