नेपाल प्रहरीले शुक्रबारदेखि मधेश प्रदेशका ८ वटै जिल्लामा एक एआईजीसहित नौ जना एसएसपीलाई खटाएको छ।

सुनसरीबाट सुरु भएको दुई समुदायबिचको झडपको प्रभावलाई साम्य बनाउन र झडप रोक्नका लागि एक एआईजीसहित नौ जना एसएसपीलाई खटाइएको प्रहरी प्रधान कार्यालयले बताएको छ।

नेपाल प्रहरीका एआईजी हिमालय श्रेष्ठलाई मधेश प्रदेशमा खटाइएको छ भने उनीसँगै एसएसपी अमरेन्द्र बहादुर सिंहलाई पनि खटाइएको छ।

त्यसैगरी सप्तरीमा एसएसपी अबि नारायण काफ्ले, सिरहामा सन्तोष भट्टराई, धनुषामा भुनेश्वर तिवारी, महोत्तरीमा कृष्ण पंगेनी, सर्लाहीमा गोपाल चन्द्र भट्टराई, रौतहटमा दीप शम्शेर जबरा, बारामा होबिन्द्र बोगटी र पर्सामा सोमेन्द्र सिंह राठौडलाई खटाइएको प्रहरी प्रधान कार्यालयले बताएको छ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला समन्वय, सहजीकरण गरी हालको विकसित घटनाक्रमलाई काबुभन्दा बाहिर जान नदिई समयमै स्थितिको सामान्यीकरण गर्ने जिम्मेवारीसाथ उनीहरूलाई खटाइएको पत्रमा उल्लेख गरिएको छ। साथै परिस्थितिको जानकारी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गराउन भनिएको छ।

शुक्रबार खटाइएका उनीहरू आफ्नो कार्यक्षेत्रमा पुगेर स्थिति साम्य बनाउन सम्बन्धित निकाय, समुदाय र व्यक्तिहरूसँग छलफल समेत सुरु गरेका छन्।

त्यसैगरी सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले पनि एआईजी गणेश ठाडामगरलाई शुक्रबारै मधेश प्रदेशमा खटाएको छ।