निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले आफ्नो नयाँ प्रिमियम एसयूभी निसान टेकटन (Nissan TEKTON) आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ।

भदौ २६ देखि ३१ गते (अगस्ट ११–१६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा टेकटनलाई नेपाली उपभोक्तासामु पहिलो पटक प्रदर्शन गरिने कम्पनीले जनाएको छ।

गत जुलाई ९ मा विश्वव्यापी रूपमा सार्वजनिक गरिएको टेकटन निसानको नयाँ पुस्ताको प्रिमियम एसयूभी हो। कम्पनीका अनुसार ७५ वर्षभन्दा लामो निसानको एसयूभी विरासतलाई निरन्तरता दिँदै प्रतिष्ठित निसान पेट्रोलबाट प्रेरित डिजाइनमा यो मोडल तयार गरिएको हो।

नयाँ टेकटनमा १.० लिटर टर्बो पेट्रोल इन्जिनसहित ६-स्पिड म्यानुअल ट्रान्समिसन तथा १.३ लिटर टर्बो जीडीआई इन्जिनसहित ६-स्पिड डुअल–क्लच ट्रान्समिसन (डीसीटी) विकल्प उपलब्ध हुनेछ। १६३ पीएससम्मको शक्ति र २८० एनएम टर्क उत्पादन गर्ने यो एसयूभीले उच्च कार्यक्षमता र इन्धन दक्षता दुवै उपलब्ध गराउने कम्पनीको दाबी छ।

गाडीमा टेक–लिङ्क एचडी इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, प्रिमियम इन्टेरियर, रियर–भ्यु क्यामेरा, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक तथा प्रशस्त सामान राख्न मिल्ने बुट स्पेस जस्ता सुविधा समावेश गरिएको छ।

सुरक्षाका दृष्टिले टेकटनमा ६ वटा एयरब्याग, उच्च–बलियो स्टिल बडी स्ट्रक्चर तथा एडप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरा प्रणालीजस्ता अत्याधुनिक चालक सहायता प्रणाली उपलब्ध रहने कम्पनीले जनाएको छ।

एक्स्पो अवधिभर निसानको स्टलमा आउने आगन्तुकहरूले टेकटनलाई नजिकबाट अवलोकन गर्न, यसको प्रविधि र विशेषताबारे जानकारी लिन तथा कम्पनीका प्राविधिक विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्नेछन्।

पायोनियर मोटो कर्पले नेपालभर बिक्री, सेवा तथा ग्राहक सहायता सञ्जालमार्फत निसानका सवारीसाधन उपलब्ध गराउँदै आएको छ। कम्पनीले टेकटनको आगमनले नेपाली प्रिमियम एसयूभी बजारमा नयाँ विकल्प थप्ने विश्वास व्यक्त गरेको छ।