नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न क्षेत्रमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले शुक्रबार पारित गरेको विशेष प्रस्तावमा हालैका घटनामा तीन जनाको मृत्यु हुनुका साथै ठूलो संख्यामा नागरिक घाइते भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न छानबिन आयोग गठन आवश्यक रहेको उल्लेख गरेको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

पार्टीले धार्मिक, सामाजिक र सांस्कृतिक सहिष्णुता नेपाली समाजको आधार रहेको उल्लेख गर्दै पछिल्लो परिस्थितिमा विभिन्न समुदायबीच देखिएको सद्भाव र संयमलाई सकारात्मक रूपमा लिएको जनाएको छ। साथै, तनाव कम गर्न राजनीतिक दल, नागरिक समाज तथा विभिन्न क्षेत्रबाट भएका पहलको स्वागत गर्दै त्यस्ता प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ।

नेकपाले सरकारले परिस्थितिको राजनीतिक संवेदनशीलतालाई आत्मसात् गर्न नसकेको आरोप लगाएको छ। विज्ञप्तिमा सरकारले संवाद र राजनीतिक पहलभन्दा प्रशासनिक तथा शक्ति प्रयोगमार्फत समस्या समाधान खोज्न बढी जोड दिएको भन्दै त्यसले परिस्थिति समाधानमा अपेक्षित परिणाम दिन नसकेको उल्लेख गरिएको छ।

पार्टीले सरकारलाई सबै सरोकारवालासँग संवाद गर्दै नागरिकको विश्वास जित्ने र समस्याको राजनीतिक तथा दिगो समाधान खोज्न आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिकासमेत निष्पक्ष रूपमा छानबिन हुनुपर्ने धारणा राखेको छ।

बैठकले वर्तमान परिस्थितिको आडमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र संविधानले सुनिश्चित गरेका उपलब्धिलाई कमजोर पार्ने, सामाजिक तथा साम्प्रदायिक विभाजन सिर्जना गर्ने वा हिंसा भड्काउने कुनै पनि गतिविधिप्रति सतर्क रहन सबैलाई आह्वान गरेको छ। यस्ता प्रयासलाई असफल पार्न लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा पनि पार्टीले जोड दिएको छ।

नेकपाले आफ्ना पार्टी समिति, नेता तथा कार्यकर्तालाई सामाजिक सद्भाव कायम गर्न अन्य राजनीतिक दल, नागरिक समाज र विभिन्न संघसंस्थासँग संवाद, बैठक तथा सद्भाव र्‍यालीजस्ता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा बसेको बैठकले तराई–मधेशमा देखिएको वर्तमान अवस्थालाई राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारीका साथ समाधान गर्नुपर्ने विषयमा जोड दिएको छ। बैठकले सरकार, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज तथा सम्पूर्ण नेपालीलाई संयम, आपसी विश्वास र निरन्तर संवादमार्फत शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन अपिल गरेको छ।