नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो रहेको पाइएको छ। तथ्यांक अनुसार हाल नेपालमा दसमध्ये सात जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्यांक छ।

नेपालमा हाल कुल मृत्युको झन्डै ७१ प्रतिशत कारण नसर्ने रोगहरू बनेका छन्। मुटुरोग, क्यान्सर, मधुमेह र दीर्घ श्वासप्रश्वास जस्ता रोगहरू यसका प्रमुख कारक हुन्।

तथ्यांक अनुसार सन् १९९० मा नसर्ने रोगका कारण हुने मृत्युदर ३० प्रतिशतमा सीमित थियो। यो प्रतिशत बढेर सन् २०१० सम्म पुग्दा ५१ मा चढेको थियो। फेरि बढेर सन् २०२० सम्म पुग्दा ७१ प्रतिशतमा पुगेको हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सन् २०३० सम्ममा नेपालमा मृत्युको प्रमुख कारक नसर्ने रोग हुने प्रक्षेपण छ। यही अनुपातमा अगाडि बढे सन् २०४० सम्म पुग्दा ७९ प्रतिशत पुग्ने प्रक्षेपण छ।

नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४७औं स्थापना दिवसको अवसरमा शुक्रबार भक्तपुरमा भएको कार्यक्रममा वक्ता चिकित्सक तथा क्षयरोग अभियन्ताहरूले कुनै बेला क्षयरोग पनि भयावह रूपमा रहेको स्मरण गरेका थिए। सो अवसरमा चिकित्सकहरूले समयमै जीवनशैलीमा सुधार नगरे डब्लूएचओको प्रक्षेपण अनुसार सन् २०४० सम्ममा यो दर ७९ प्रतिशतसम्म पुग्न सक्ने अनुमान रहेको जानकारी गराए।

कार्यक्रममा प्रमुख अतिथि चिकित्सक डा. कृष्णबहादुर कर्माचार्यले नसर्ने रोगहरूको प्रकोप बढ्नुको प्रमुख कारणहरू खानपानमा गडबडी, धेरै नुन, चिनी र अस्वस्थकर (प्याकेट) खानाको प्रयोग आदि रहेको बताए। शारीरिक निष्क्रियता, सहरीकरण र प्रविधिको बढ्दो प्रयोगले शारीरिक व्यायाम वा श्रम कम हुनु पनि यसको कारकका रूपमा रहेको उनले सुनाए।

चुरोट तथा मद्यपानको सेवन, सूर्तीजन्य पदार्थ र अत्यधिक मदिरापान, तनावपूर्ण जीवनशैली, मानसिक तनाव र निद्राको कमी आदि पनि यसका कारक रहेको उनको भनाइ रहेको थियो। नियमित स्वास्थ्य परीक्षण, रक्तचाप, सुगर र कोलेस्ट्रोलको नियमित जाँच गराउने, स्वस्थ जीवनशैली, दैनिक ३० मिनेट शारीरिक व्यायाम गर्ने र ताजा तथा सन्तुलित आहार (फलफूल र सागसब्जी) खाने यसबाट बच्ने उपाय रहेको उनले बताए। साथै आचरणमा सुधार, सूर्ती र मदिराजन्य पदार्थको सेवन पूर्ण रूपमा बन्द गर्ने थप उपाय रहेको उनले सुनाए।

कार्यक्रममा दशकौंदेखि क्षयरोग संस्थामा रही निरन्तर कार्यरत धनमान श्रेष्ठ, बालमुकुण्ड बासुकलालगायतले तत्कालीन समयमा क्षयरोगले धेरै मानिसको मृत्यु हुने गरेको स्मरण गरेका थिए। त्यसका लागि आफूहरूले सामाजिक चेतनाका लागि गरेको अनेक संघर्षका कथाहरू उनीहरूले स्मरण गराए।

नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखा क्षयरोग न्यूनीकरण गर्नका लागि २०३६ साल साउन १५ गते स्थापना भएको थियो। क्षयरोग न्यूनीकरणका लागि संघले ४७ वर्षदेखि निरन्तर संघर्ष गरिरहेको छ।