गौरीगंगा नगरपालिका-४ स्थित ‘द ग्रीन स्टार इङ्ग्लिस स्कुल’ मा कक्षा १ मा अध्ययनरत ७ वर्षीय बालकको मोटरसाइकलले ठक्कर दिँदा ज्यान गएको छ।
अभिभावक नआउँदै विद्यालयबाट घर जान दिएका बालकलाई मंगलबार पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। अचेत भएका बालकको भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा शुक्रबार ज्यान गएको प्रहरीले बताएको छ।
कैलाली-४ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद कोइरालाले सञ्चालन गरेको उक्त विद्यालयले अभिभावक नआउँदै कक्षा १ का विद्यार्थी आरभ बोहरालाई एक्लै घर जान दिएका कारण मंगलबार पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिएको बालकका बुबा दिलीप बोहराले आरोप लगाएका छन्।
‘विद्यालयको लापरबाहीले मेरो छोरालाई मोटरसाइकलले ठक्कर दिएको हो। विद्यालयको कमजोरीले मैले छोरा गुमाएँ,’ उनले भने, ‘मेरो जस्तो नियति अरू कसैको छोराले भोग्नु नपरोस्।’
विद्यालयको बिदा १२ बजे हुने भए पनि साढे ११ बजे नै छोरालाई विद्यालय बाहिर पठाइएको बोहराले दाबी गरेका छन्। विद्यालयको कमजोरीको छानबिन गरी कारबाही गरिनुपर्ने उनको माग छ। यसअघि पनि विद्यालयको कमजोरीका कारण यस्ता घटना घटे तापनि सुधार नभएको उनको भनाइ छ।
विद्यालय प्रशासनले भने बालकलाई छिमेकी विद्यार्थीकी हजुरआमासँगै पठाइएको दाबी गरेको छ।
बालकलाई ठक्कर दिने २६ वर्षीय चालक सागर चौधरी र मोटरसाइकलको पछाडि बसेका गुटराम डगौरा थारू पक्राउ परेका छन्। चालकसँग लाइसेन्ससमेत नभएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया