देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल गरेका छन्।

छलफलपछि जारी गरिएको संयुक्त अपिलमा सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा विकसित परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।

अपिलमा सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य स्थानमा भएका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

संयुक्त अपिलमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यही विविधताबीचको आपसी सम्मान, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता नै नेपालको पहिचान र शक्ति भएको बताइएको छ। कुनै पनि घटना वा विवादका कारण समाजमा विभाजन सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।

अपिलमार्फत सुनसरी, सिरहा तथा मधेस प्रदेशका विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी कानूनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरिएको छ। साथै, पीडित परिवारलाई राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

धर्मका नाममा समाजमा हिंसा, घृणा वा विभाजन फैलाउने कुनै पनि प्रयास सफल हुन नदिन सबै नागरिकलाई संयमित, जिम्मेवार र सचेत बन्न अपिल गरिएको छ। उत्तेजनात्मक अभिव्यक्ति, अफवाह तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिबाट टाढा रहँदै शान्ति र भाइचाराको वातावरण जोगाउन सबैको सक्रिय भूमिका आवश्यक रहेको संयुक्त अपिलमा उल्लेख छ।

अपिलमा सबै धर्मको मूल मर्म मानव कल्याण, सहिष्णुता, प्रेम र सामाजिक एकता सुदृढ गर्नु रहेको स्मरण गराउँदै एकअर्काको आस्था, संस्कृति र विश्वासप्रति सम्मान कायम राख्नु प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गरिएको छ।

त्यसैगरी स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय हुन आह्वान गरिएको छ।

संयुक्त अपिलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा–ए–नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ नेपालका सचिवालय सदस्य राजुराज फुयाँल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन्।

अपिलको अन्त्यमा सम्पूर्ण नेपालीलाई धर्म, जात, भाषा वा समुदायभन्दा माथि उठेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र पारस्परिक विश्वासलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आग्रह गरिएको छ। “शान्त, सहिष्णु र एकताबद्ध नेपाल” निर्माणमा सबै नागरिकको साझा प्रतिबद्धता नै वर्तमान समयको आवश्यकता भएको अपिलमा उल्लेख गरिएको छ।