काठमाडौँ २१ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवासमा शुरु भएको छ । संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि पार्टीको आगामी रणनीति तय गर्न कांग्रेस पदाधिकारी बैठक बसेको हो ।

बुढानिलकण्ठ स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन बैशाख २७ गते अधिवेशन आह्वान गरेपछि सभापति देउवाले  पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि हिजोको बैठक स्थगित भएको थियो । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनका विषयमा कुरा हुने बताइएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय गरिसकेको अवस्थामा नयाँ सरकार बनाउने विषयमा छलफल केन्द्रित हुने छ।

बैठकमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शंशाङ्क कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पू्र्ण बहादूर खड्का, प्रकाशमान सिंह, सुनिल थापा, रमेश लेखक, बालकृष्ण खाँण, गोपालमान श्रेष्ठ लगायत शिर्ष नेताहरुको सहभागिता रहेको स्रोतले जनाएको छ ।