अत्यधिक वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। साउन २ र ३ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म धनकुटा, पाँचथरलगायतका पहाडी जिल्लाका प्रमुख सडकखण्डमा यातायात सञ्चालन बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालय धनकुटाले शनिबार सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीका आधारमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार रातिको समयमा सवारी आवागमन रोकिएको जनाएको छ।
प्रशासनका अनुसार भेडेटार–रवि–राँके सडकखण्ड, मुलघाटदेखि पाँचथरको सीमासम्मको तमोर करिडोर, साथै भेडेटारबाट तेह्रथुम, सङ्खुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सडकमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न पाइने छैन।
प्रशासनले अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन र आवश्यक परे जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय पाँचथरले पनि छुट्टै सूचना जारी गर्दै मेची राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, तमोर करिडोर, फिदिम–फालोट सडक, राँके–रवि सडक तथा जोरपोखरी–मेमेङ सडकमा साउन २ र ३ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रशासनले मौसमको अवस्था सामान्य नहुँदासम्म यात्रा गर्दा विशेष सावधानी अपनाउन र सरकारी निकायबाट जारी हुने सूचना तथा पूर्वसूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


प्रतिक्रिया