फिफा विश्वकप २०२६ को रौनकले विश्वभरका फुटबल प्रेमीहरूलाई आफ्नो खेलमा केन्द्रित गराएको छ। तर, यो खेलको व्यापक प्रभावले अमेरिकामा भने ठूलो आर्थिक क्षति निम्त्याएको छ।

मानव संसाधन सफ्टवेयर प्रदायक यूकेजीको पछिल्लो रिपोर्ट अनुसार यो विश्वकपका कारण अमेरिकी अर्थतन्त्रले उत्पादकत्वमा मात्र ११.७ अर्ब डलर बराबरको क्षति व्यहोर्नुपरेको छ। विश्वभरका विभिन्न मुलुकमा गरी यो घाटा १७ अर्ब डलर पुगेको छ। यसैगरी, जर्मनीमा १.३४ अर्ब डलर, बेलायतमा ९१२ मिलियन डलर, फ्रान्समा ७४९ मिलियन डलर, अष्ट्रेलियामा ६५३ मिलियन डलर, क्यानाडामा ४७९ मिलियन डलर, नेदरल्याण्ड्समा ३८८ मिलियन डलर र मेक्सिकोमा ३६९ मिलियन डलर बराबरको आर्थिक नोक्सानी भएको छ।

विश्वकपको समयमा धेरै कर्मचारी खेल हेर्नका लागि कार्यालयमा ढिलो आउने, कामको बीचमै छोडेर जाने वा बिदा लिने गरेकाले यस्तो असर परेको रिपोर्टमा उल्लेख छ। यूकेजीका मुख्य उत्पादन अधिकृत सुरेश विट्टल भन्छन्, ‘यो विश्वकप केवल एउटा सांस्कृतिक उत्सव मात्र होइन, यो कर्मचारीको कार्यक्षमता र उत्पादकत्वको वास्तविक परीक्षा पनि हो। यदि यसलाई समयमै व्यवस्थापन गरिएन भने यसले कार्यस्थलमा तनाव र उत्पादकत्वमा ह्रास ल्याउँछ।’

जुलाई ७ मा अमेरिका बेल्जियमसँग पराजित भएको भोलिपल्ट अमेरिकी कार्यालयहरूमा कर्मचारीको उपस्थिति ह्वात्तै घटेको थियो। कार्यस्थल व्यवस्थापन प्लेटफर्म ‘दूत’ ले दिएको जानकारी अनुसार उक्त दिन कार्यालयमा उपस्थिति २६ प्रतिशतले घटेको थियो। यो गिरावट सुपर बाउल पछिको दिनको तुलनामा झण्डै १० गुणा बढी हो। साथै, ग्राहकसँगको बैठक, अन्तर्वार्ता र अन्य व्यावसायिक भेटघाट पनि ३२ प्रतिशतले घटेका थिए। ‘दूत’ ले यो दिनलाई ‘नकआउट मंगलबार’ को संज्ञा दिएको थियो।

यूकेजीको सर्वेक्षणले विश्वभरका कर्मचारीमध्ये ३७ प्रतिशतले खेल हेर्नका लागि आफ्नो कामको तालिका परिवर्तन गर्ने योजना बनाएको देखाएको छ। यति मात्र होइन, २२ प्रतिशत कर्मचारी थकित अवस्थामा काममा आउने र ११ प्रतिशत कर्मचारीले ह्याङओभरको अवस्थामा पनि काम गर्ने स्वीकार गरेका छन्।

अमेरिकी टोली प्रतियोगिताबाट बाहिरिएपछि कार्यालयमा कर्मचारीको उपस्थिति बिस्तारै सामान्य बन्दै गएको छ। यसअघि पनि ठूला खेलकुद प्रतियोगिता वा चलचित्रको प्रदर्शनका समयमा यस्तो असर देखिने गरेको थियो। सन् २०२३ मा ‘बार्बी’ र ‘ओपेनहाइमर’ फिल्म रिलिज हुँदा वा ओलम्पिक खेलका समयमा पनि कार्यालयमा कर्मचारीको उपस्थिति घटेको रिपोर्टले देखाएको छ।

यस्तो समस्याबाट बच्न धेरै कम्पनीले उपाय पनि अपनाएका छन्। एस एन्ड पी, जेपी मोर्गन चेज एन्ड कम्पनी र गोल्डम्यान स्याक्स जस्ता ठूला कम्पनीले खेलका दिनमा ट्राफिक र यात्राको ढिलाइबाट बच्न कर्मचारीलाई घरबाटै काम गर्ने सुविधा दिएका थिए।

आगामी सोमबार स्पेन र अर्जेन्टिनाबिचको फाइनल खेलसँगै विश्वकप सकिँदैछ। न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुने यो फाइनल खेलले पनि कार्यस्थलमा केही असर पार्न सक्ने अनुमान गरिएको छ। यद्यपि, अमेरिकी टोली प्रतियोगिताबाट बाहिरिसकेकाले यसअघिको ‘नकआउट मंगलबार’ को जस्तो गम्भीर प्रभाव नपर्ने आकलन गरिएको छ। एजेन्सीको सहयोगमा