गत असार ३२ गते (बिहीबार) नेपालमा एकै दिन भएको घरजग्गा किनबेचको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ। साउन १ गतेदेखि लागू हुने पूँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) वृद्धि हुनुअघि नै कारोबार गर्नेको भीड बढ्दा एकै दिन १० हजार ९६८ वटा जग्गा किनबेच भएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन विभागका अनुसार उक्त दिन देशभरका १३६ मालपोत कार्यालय र ६ वटा नगरपालिकामार्फत १० हजार ९६८ वटा जग्गाको कारोबार सम्पन्न भएको थियो।

विभागका सूचना प्रविधि (आईटी) प्रमुख बलराम काफ्लेका अनुसार उपलब्ध अभिलेखअनुसार यो नेपालमा एकै दिन भएको सबैभन्दा धेरै घरजग्गा कारोबार हो।

‘हामीसँग रहेको रेकर्डअनुसार असार ३२ गते भएको कारोबार अहिलेसम्मकै उच्च हो। यसअघि एकै दिन १० हजारभन्दा बढी कारोबार भएको अभिलेख छैन,’ काफ्लेले भने।

एकै दिन १ अर्ब ७३ करोडभन्दा बढी राजस्व संकलन

असार ३२ गते भएको जग्गा कारोबारबाट सरकारले १ अर्ब ७३ करोड ७७ लाख २५ हजार ७८८ रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ।

त्यसअघिल्लो दिन असार ३१ गते १० हजार १८२ वटा जग्गा किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ६५ हजार ७६४ रुपैयाँ राजस्व संकलन भएको थियो।

कर वृद्धि लागू हुनुअघि कारोबारमा उछाल

सरकारले साउन १ गतेदेखि जग्गा बिक्रीमा लाग्ने पूँजीगत लाभकरको दर बढाउने निर्णय गरेपछि नयाँ कर लागू हुनुअघि नै घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको हो।

नयाँ व्यवस्थाअनुसार पाँच वर्षभन्दा बढी समय स्वामित्वमा रहेको जग्गा बिक्री गर्दा ७.५ प्रतिशत र पाँच वर्ष नपुगेको जग्गा बिक्री गर्दा १० प्रतिशत पूँजीगत लाभकर लाग्नेछ। यसअघि यस्तो कर क्रमशः ५ प्रतिशत र ७.५ प्रतिशत थियो।

छ स्थानीय तहबाटै घरजग्गा सेवा

हाल मेलम्ची, शिवसताक्षी, चौदण्डीगढी, भूम्लु, कन्काई र मनोहरा–कागेश्वरी नगरपालिकाबाट पनि घरजग्गा किनबेचसम्बन्धी सेवा उपलब्ध हुँदै आएको छ। यी स्थानीय तहका सेवाग्राहीले मालपोत कार्यालय धाउनुपर्ने बाध्यता नरही सम्बन्धित नगरपालिकाबाटै सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

सुस्त बजारमा क्रमिक सुधार

भूमि व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती महिनामा घरजग्गा कारोबार सुस्त रहे पनि त्यसपछि बजारमा क्रमिक सुधार देखिएको थियो। विशेषगरी भदौपछि कारोबार विस्तारै बढ्दै गएको विभागको भनाइ छ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा २२ वटा मालपोत कार्यालय र १४ वटा नापी कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो।

तीमध्ये पाँच वटा मालपोत कार्यालय पूर्ण रूपमा र १७ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका थिए। त्यस्तै, आठ वटा नापी कार्यालय पूर्ण रूपमा र छ वटा आंशिक रूपमा क्षति पुगेको थियो।

विभागका अनुसार क्षति भएका सबै मालपोत तथा नापी कार्यालय पुनः सञ्चालनमा आइसकेका छन्।