भक्तपुरको पुरानो जगातीस्थित ऐतिहासिक पुल पुनःनिर्माण सम्पन्न भएको छ। मुख्य रूपमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका बासिन्दाले प्रयोग गर्ने यो पुल भक्तपुर नगरपालिकाले आफ्नै ४४ लाख रुपैयाँको बजेटमा पुनःनिर्माण गरेको हो।

जिल्लाको भक्तपुर, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको संगमस्थल मानिने उक्त पुलको शनिबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले औपचारिक उद्घाटन गरे।

पुल पुनःनिर्माणका लागि ५३ लाख रुपैयाँको लागत अनुमान गरिए पनि ४४ लाख रुपैयाँमै निर्माण कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

उक्त पुलले भक्तपुर नगरपालिका–८ पुरानो जगाती र चाँगुनारायण नगरपालिका–९ ताथलीलाई जोड्छ। पुलको पश्चिमतर्फ भक्तपुर नगर क्षेत्र पर्छ भने यही पुल हुँदै चाँगुनारायण र सूर्यविनायकका सर्वसाधारण दैनिक रूपमा भक्तपुर आवतजावत गर्ने गरेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले ‘हाम्रो ठाउँ, हामीले नै बनाउने’ अवधारणाअनुसार स्थानीय स्रोत, साधन र जनसहभागिताको उपयोग गरेर गरिएका विकास निर्माणका काम दिगो हुने बताए। उनले नेपाल मजदुर किसान पार्टीको जनमुखी सोचअनुसार भक्तपुर नगरपालिकाले सधैं जनताको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको पनि उल्लेख गरे।

कार्यक्रमका वक्ताहरूले ऐतिहासिक सम्पदाको संरक्षणसँगै आधुनिक आवश्यकता पूरा गर्ने उद्देश्यले पुल पुनःनिर्माण गरिएको बताए। उनीहरूले यसबाट स्थानीय आवागमन सहज हुनुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

भक्तपुर नगरपालिका वडा नं. ८ कार्यालयको आयोजनामा भएको कार्यक्रममा पुलको ऐतिहासिक महत्व, पुनःनिर्माणको आवश्यकता र स्थानीय विकासमा यसको भूमिकाबारे चर्चा गरिएको थियो। सहभागीहरूले पुराना सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई इतिहाससँग जोड्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा वडा अध्यक्ष केपी कोजू, वडा सदस्य कृष्णलाल किसी, समाजसेवी जगतशेर गोसाई, नेपाल मजदुर किसान पार्टी वडा नं. ८ का संयोजक लक्ष्मीनारायण दुवाल, उपभोक्ता समितिका अध्यक्ष बालगोविन्द तचामो तथा रामप्रसाद किसीलगायतले पुलको ऐतिहासिक, सामाजिक र विकासात्मक महत्वबारे धारणा राखेका थिए।

भक्तपुरको पुरानो जगाती क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने भएकाले पुनःनिर्माण सम्पन्न पुलले स्थानीय बासिन्दा, पर्यटक तथा सम्पदा संरक्षणमा चासो राख्नेहरूका लागि थप आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

पुल उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।