नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको प्रहरी हस्तक्षेपको कडा आलोचना गर्दै पक्राउ परेका सबैलाई तत्काल निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत युवामाथि कुटपिट गरी नियन्त्रणमा लिइएको घटना अत्यन्त चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको बताएका छन्।

उनले बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवामाथि बल प्रयोग गरिएको भन्दै सरकारको व्यवहारप्रति प्रश्न उठाएका छन्।

“करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?” भन्दै थापाले लोकतान्त्रिक व्यवस्थामा नागरिकले सरकारसँग प्रश्न सोध्नु नैसर्गिक अधिकार भएको उल्लेख गरेका छन्।

उनले प्रश्नको उत्तर गिरफ्तारी, लाठीचार्ज वा दमन हुन नसक्ने स्पष्ट गर्दै लोकतान्त्रिक सरकारले फरक मत र आलोचना सुन्न सक्नुपर्ने बताएका छन्।

थापाका अनुसार सरकारको बलियोपन दमनमा होइन, विधिको शासन, संवाद र उत्तरदायित्वमा देखिनुपर्छ। आलोचनालाई बल प्रयोग गरेर दबाउने प्रयास लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने उनको भनाइ छ।

सत्ताप्रति लक्षित गर्दै उनले “फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो” भन्ने टिप्पणी गरेका छन्।

सभापति थापाले घटनामा पक्राउ परेका सम्पूर्ण युवालाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको अवस्था बुझ्न पुगेका केही जेनजी अभियन्ता तथा युवामाथि प्रहरीले कुटपिट र धरपकड गरेको छ। घटनापछि उनीहरूमध्ये केही घाइते भएका छन् भने प्रहरी कारबाहीलाई लिएर विभिन्न राजनीतिक दल, नागरिक समाज तथा अधिकारकर्मीहरूले सरकारलाई खबरदारी गर्न थालेका छन् ।